हेटौँडा, मङ्सिर १२ गते । पश्चिमी मकवानपुरको राक्सिरा गाउँपालिकामा साढे दुई करोड रुपियाँभन्दा बढीको लागतमा खानेपानी तथा सरसफाई योजना बन्ने भएको छ ।
पालिकाभित्रका चालु आर्थिक वर्षको प्राथमिकतामा रहेका पाँच वटा खानेपानी तथा सरसफाई योजना दातृ संस्था वाइन टु वाटर नेपालसँगको साझेदारीमा निर्माण गर्ने गरी शुक्रबार सम्झौता भएको हो ।

सम्झौता अनुसार एक वर्षभित्र सम्पन्न हुने योजनाहरुमा वडा नं. १ को माथिल्लो ढुङ्गेनी–तल्लो खानेपानी तथा सरसफाई योजना, वडा नं. ९ का झामराङ, कर्कटा, तल्लो गाउँ, कोदेबाङ खानेपानी तथा सरसफाई योजना, वडा नं. ८ को कालिथान–हात्तीखोला खानेपानी तथा सरसफाई योजना, वडा नं. ७ को काकुलिङ खोला–बेशी खानेपानी तथा सरसफाई योजना र वडा नं. ६ को सिदाम खानेपानी तथा सरसफाई योजना रहेका छन् । ७५ प्रतिशत दातृ निकाय र २५ प्रतिशत गाउँपालिकाको बजेट लगानी रहने योजनाको स्थानीयको श्रमदान रहने छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले वाइन टु वाटर नेपालले एक करोड ७१ लाख ३१३ रुपियाँ उपलब्ध गराउने गरी सम्झौता गरिएको उक्त योजनामा गाउँपालिकाले ६५ लाख ७० हजार ४३ आर्थिक साझेदारी सुनिश्चित गरेको सबै योजना स्थानीय समुदायसँगको सहकार्यमा अघि बढाइने जानकारी दिनुभयो ।
योजनामा उपभोक्ता समितिबाट २६ लाख ३० हजार रुपियाँ बराबरको श्रमदान प्राप्त हुने अनुमान गरिएको छ । पाँच वटै योजनामा दुई करोड ६३ लाख आठ हजार १७५ रुपियाँ खर्च हुने छ । समुदायमा दीर्घकालीन प्रभाव पार्ने सामाजिक पूर्वाधारको रूपमा यस योजनालाई पालिकाले लिएको छ । खानेपानी तथा सरसफाई योजनाबाट राक्सिराङका पाँच वटा वडाका १६५ घरधुरी लाभान्वित हुनेभएका छन् ।
सम्झौता कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, वडा नम्बर ३ को वडाध्यक्ष उत्तम वाइबा, वाइन टु वाटर नेपालको कार्यक्रम संयोजक यज्ञराज जोशी उपस्थिति रहेको थियो ।




