खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर १७ गते । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित हेटौँडा जनप्रिय क्याम्पसमा कृषि विज्ञान स्नातक तहको अध्यापन सुरुभएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट कृषि विज्ञान सङ्कायतर्फ स्नातक तहको लागि सम्बधन लिएर अध्यापन सुरु गरिएको हो ।
क्याम्पस परिसरमा बुधबार आयोजित कृषि विज्ञान स्नातक तहको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार कल्याणी मिश्र त्रिपाठी कृषि विषयको स्नातक तहको अध्यापन सुरु भएको घोषणा गर्नुभयो ।

कार्यक्रममा रजिस्ट्रार त्रिपाठीले नेपालमा व्यावसायिक कृषिको सम्भावना रहेको भन्दै गुणस्तरीय जनशक्ति उत्पादनमा विश्वविद्यालयले जोड दिँदै आएको बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले हेटौँडालाई शैक्षिक हब बनाउन शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिनुभयो ।
ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले पालिकाले कृषिलाई प्राथमिकता दिएर लगानी गर्दै आएको बताउनुभयो ।

मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् सविधान सभा सदस्य अनन्त पौडेल, शिक्षाविद् पुरनबहादुर जोशी, हेटौँडा जनप्रिय क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष आनन्दराम पराजुली, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोईरालाले मकवानपुरमा कृषि क्षेत्रको विकासको उच्च सम्भावना रहेको भन्दै कृषि विज्ञानसँगै पशुचिकत्सा विषयको स्नातक तहको अध्यापन आवश्यक भएको बताउनुभयो ।
सो अवसरमा हेटौँडा उपमहानगरपालिकाका वडाध्यक्षहरु, प्राध्यापक, नागरिक समाज, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
हेटौँडा जनप्रिय क्याम्पसमा कृषि विज्ञान विषयको यस वर्ष स्नातक तहमा ४८ जना विद्यार्थीले अध्ययन गर्न पाउने गरी कोटा निर्धारणसँगै विद्यार्थी छनोट गरिएको छ ।




