हेटौँडा बजार क्षेत्रका घर टहरामा शनिबार बिहान अध्याँरोबाटै चल्यो डोजर

लोकप्रिय

हेटौँडा, मङ्सिर २० गते । हेटौँडाको मुख्य बजार क्षेत्रमा शनिबारबाट घर टहरालगायतका संरचना भत्काउन सुरु गरिएको छ ।
सडक डिभिजन हेटौँडाले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर शनिबार बिहान अध्याँरोबाटै हेटौँडाको मुख्य बजार क्षेत्रका सडक दायाँबायाँका घर टहरालगायतका संरचना भत्काउन थालेको हो ।
सडक डिभिजनले बजार क्षेत्रका सडक दायाँबायाँका घर टहरा भत्काउन एक दर्जन बढी डोजर चलाएको छ । ६ः०० बजे भन्दा अगावै डोजर लगाउन सुरु गरिएको थियो ।
सडक डिभिजनले यही मङ्सिर ५ गते त्रिभुवन राजपथको रातोमाटेदेखि सामरी पुल र महेन्द्र राजमार्गको बुद्धचोक हुँदै राप्ती पुलसम्म सडक सीमा २५/२५ गज विस्तारका लागिसडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने सूचना जारी गरेको थियो । उक्त सूचना जारी भएपछि पनि स्थानीयले मुआब्जा र क्षतिपूर्ति दिने पर्ने माग गर्दै घरटहरा भत्काउन अस्वीकार गरेपछि सडक डिभिजनले डोजर चलाएको छ । शुक्रबार साँझसमेत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी बजार क्षेत्रमा परिचालन गरिएको थियो ।
हेटौँडा बजार क्षेत्रका बासिन्दासमेत यसअघि आफ्नो घरजग्गाको मुआब्जा र क्षतिपूर्तिको माग गर्दै व्यवसाय बन्द गराएर दैनिक आन्दोलनमा उत्रिएका थिए ।

 

ताजा समाचार

Related Articles