स्वतन्त्र पत्रकार संघको आपत्ति

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर २३ गते । स्वतन्त्र पत्रकार संघ मकवानपुरले समाचार सङ्कलन र प्रसारणका क्रममा रोकतोक लगाएको भन्दै आपत्ति जनाएको छ ।
संघले हेटौँडा बजार क्षेत्रमा भइरहेको सडक चौडासम्बन्धी समाचार सङ्कलन र प्रसारणका क्रममा पत्रकारमाथि अवरोध, दवाव र अनावश्यक रोकतोक लगाएको भन्दै सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाएको हो ।

संघका मकवानपुर अध्यक्ष राजन घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ नागरिक सरोकारका विषयहरू सार्वजनिक गर्ने पत्रकारमाथि भएको हस्तक्षेप लोकतान्त्रिक मूल्य र संवैधानिक अधिकारमाथिको प्रत्यक्ष प्रहार हो । जिल्ला प्रशासन कार्यालय अगाडि समाचार संकलनका लागि सोमबार पुगेका संघका सचिवसमेत रहेका पत्रकार वसन्त भण्डारीलगायत अन्य सञ्चारकर्मीहरूमाथि गरिएको असभ्य व्यवहार कुनै पनि दृष्टिले स्वीकार्य छैन विज्ञप्तिमा उल्लेख छ ।

संविधानले पत्रकारको पेशागत स्वतन्त्रतालाई पूर्ण सुरक्षा प्रदान गरेको भन्दै विज्ञप्तिमा भनिएको छ, संवैधानिक तथा कानुनी ग्यारेन्टीहरू विपरीत कुनै पनि व्यक्ति, समूह वा निकायले पत्रकारको काममा हस्तक्षेप गर्न पाउँदैन ।
स्वतन्त्र पत्रकार संघ मकवानपुरले प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहका जिम्मेवार निकायलाई घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाही आरम्भ गर्न भन्दै पत्रकारको सुरक्षित कार्य परिवेश सुनिश्चित गर्न आग्रह गरेको छ ।
संघले पत्रकारमाथि प्रयोग भएका असभ्य शब्द, अनुचित व्यवहार र दवावपूर्ण शैलीको भत्र्सनासमेत गरेको छ ।

ताजा समाचार

Related Articles