शिवमद्वारा छात्रवृत्ति प्रदान

लोकप्रिय

हेटौँडा, मङ्सिर २६ गते । शिवम् सिमेन्ट लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई लक्षित गर्दै छात्रवृत्ति प्रदान गरेको छ ।
हेटौँडा–१७ हटिया स्थित उद्योग प्रभावित क्षेत्रमा रहेको लक्ष्मी आधाभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्रालाई चालु शैक्षिक सत्रमा मंसिरदेखि चैत्रसम्मको विद्यालयले लिने शुल्क प्रदान गरेको हो ।

विद्यालय सञ्चालनका लागि विद्यालयले विद्यार्थीबाट लिँदै आएको यस शैक्षिक सत्रको पाँच महिनाको शुल्क बापत हुन आउने एक लाख ४९ हजार चार सय रुपियाँ विद्यालयलाई हस्तान्तरण गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा सदस्य लेखकुमारी तिमल्सिनाको उपस्थितिमा उद्योगका उपमहाप्रबन्धक राजेन्द्र शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद नेपाललाई चेक हस्तान्तरण गर्नुभयो । उद्योगले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्राहरुका लागि छात्रावृत्ति प्रदान गरेको हो ।

उद्योगले दिएको छात्रावृत्तिले विद्यार्थीको मनोबल उच्च बनाउन सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक यदुदेव उपाध्याय सिग्देलले बताउनुभयो ।
कार्यक्रममा उद्योगका प्रबन्धकहरु सुशीला दाहाल, कल्याण सुवेदी, नरबहादुर खत्री, उपप्रबन्धक मुकेश कुमार, बरिष्ठ अधिकृत रामकुमार कँडेललगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles