हेटौँडा, पुस १ गते । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ३ स्थित पोलदम्की खोलामा तीन करोडभन्दा बढीको पक्की पुल निर्माण सुरु भएको छ ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, मकवानपुरमार्फत पुल निर्माण हुने भएको हो ।
पक्की पुलको मङ्गलबार बागमती प्रदेशकी पूर्व मन्त्री एवम् बागमती प्रदेश सभा सदस्यसमेत रहनुभएकी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य कुमारी मोक्तानले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभयो ।

प्रदेश सभा सदस्य मोक्तानले पुल शिलान्यास गर्दै पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहजतासँगै स्थानीय कृषि तथा पशुजन्य उत्पादन बजारसम्म पु¥याउन र बजार पहुँच विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो ।
वडा नम्बर ३ का वडाध्यक्ष प्रितिलाल लामाले पुलको अभावमा वर्षायाममा स्थानीयलाई आवागत जावतमा समस्या हुँदै आएको भन्दै लामो समयको प्रयासपछि पुल निर्माणको योजना अगाडि बढेको बताउनुभयो ।
पुल शिलान्यास कार्यक्रममा मकवानपुर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी भीमफेदी संयोजक बद्री स्याङ्तानलगायतको उपस्थिति रहेको थियो ।

पूर्वाधार विकास कार्यालय, मकवानपुरका प्रमुख सुजन भण्डारीले एउटा मात्र स्पान रहने उक्त पुलको लम्बाई २५ मिटर र चौडाई फुटपाथसहित ८.४० मिटरको हुने जानकारी दिनुभयो । उक्त पुल २०८४ साल असार ८ गते सम्पन्न गर्ने गरी गत असार ९ गते निर्माण कम्पनी एस के धवलागिरि निर्माण सेवा, काठमाडौँसँग निर्माण सम्झौता भएको हो ।
पूर्वाधार विकास कार्यालय, मकवानपुरका प्रमुख भण्डारीले
मूल्य अभिवृद्धि कर, पिएस र कन्टीजेन्सीसहित तीन करोड छ लाख ६५ हजार ६४५ रुपियाँ निर्माण लागत रहेको उक्त पुल निर्माण सम्पन्न भएपछि हेटौँडा–काठमाडौँ सडक र भीमफेदी गाउँपालिका वडा नम्बर ३ बिचको सडक सञ्जाल विस्तार एवम् पहुँच विस्तारमा सहयोग पुग्ने बताउनुभयो ।
पुल निर्माणसँगै भीमफेदी गाउँपालिकाको लेक पान्द्राङ, पारीपाखा सिमल्टार, चिलाउने, पोलदम्कीलगायतका क्षेत्रका वर्षायाममा आवागमनमा समस्या बेहोर्दै आएका नागरिक उक्त समस्याबाट मुक्त हुने भएका छन् ।




