फुटबल रनिङ ट्रफी प्रतियोगिता सम्पन्न

लोकप्रिय

काभ्रे, पुस ४ गते । नेपाल पुलिस स्कुल साँगामा संचालित ३१औं अन्तर विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८२ शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टिमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवम् म्याच रेफ्री र अफिसियलहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले यस किसिमको खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो सीप प्रदर्शन गर्न र आत्मविश्वास विकास गर्न सहयोग पुर्‍याउने चर्चा गर्नुभयो ।  विद्यालय व्यक्तित्व विकासको आधारशिला भएको चर्चा गर्दै विद्यार्थीहरूको रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न विद्यालयले विभिन्न सिर्जनशील र रचनात्मक कार्यहरू संचालन गरी विद्यार्थीहरूको समग्र बौद्धिक एवम् व्यक्तित्व विकासमा सहयोग पुग्ने शैक्षिक वातावरण निर्माण गर्न विद्यालय परिवार सदैव क्रियाशील हुन उहाँले आग्रह गर्नुभयो ।

आज भएको फाइनल खेलमा नेपाल पुलिस स्कुल साँगा रातोले सैनिक आवासीय महाविद्यालय भक्तपुरलाई १-० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगा रातो प्रथम, सैनिक आवासीय महाविद्यालय भक्तपुर द्वितीय र पिस पोइन्ट स्कुल बानेश्वर तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

मंसिर १७ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १४ विद्यालयका १५  टिमको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles