बागमती प्रदेशको मुख्यन्याधिवक्तामा बस्नेतको नाम सिफारिश

लोकप्रिय

मकवानपुर, पुस ५ गते । बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताका लागि अधिवक्ता अप्सरा बस्नेतको नाम सिफारिस गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बस्नेतलाई मुख्यन्याधिवक्तामा नियुक्तिका लागि बागमती प्रदेशका प्रदेश प्रमुख समक्ष सिफारिश गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६० उपधारा (२) मा मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुखले मुख्यन्याधिवक्ताको नियुक्ति गर्ने व्यवस्था रहेको छ ।

बागमती प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईले मुख्यन्याधिवक्ता सुकदेव काफ्लेले राजीनामा दिनु भएपछि रिक्त रहेको मुख्यन्याधिवक्तामा मुख्यमन्त्री बानियाँले अधिवक्ता बस्नेतलाई नियुक्ति गर्न सिफारिश भई आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश प्रमुखबाट बस्नेतलाई आइतबार मुख्यन्याधिवक्तामा नियुक्ति गर्ने गरी तय भएको छ ।
सूचना अधिकारी चापागाईले बस्नेतलाई मुख्यन्याधिवक्तामा नियुक्तिसँगै सोही दिननै पद तथा गोपनियताको सपथ ग्रहण गराउने गरी तयारी भई रहेको बताउनुभयो । उहाँले उच्च अदालत पाटनका मुख्य न्यायाधिसले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुपर्ने भएकोले उक्त दिनमा मुख्यन्याधिसको समय व्यवस्थापन भएको सोही दिनमा र नभएमा पछि सपथ ग्रहण गराइने बताउनुभयो । संविधानमा मुख्यन्याधिवक्ताको सपथ ग्रहण प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालत मुख्य न्यायाधिसले गर्ने व्यवस्था रहेको छ ।

बस्नेत मुख्यन्याधिवक्ता भएसँगै सातै प्रदेशको पहिलो महिला मुख्य न्यायाधिवक्ता बन्ने हुनुभएको छ ।
हेटौँडा निवासी अधिवक्ता बस्नेत मकवानपुर जिल्ला बार एसोसियसनको निवर्तमान अध्यक्ष हुनुहुन्छ । अधिवक्ता बस्नेत अधिवक्ता बस्नेत मकवानपुर बार एसोसियसनको पहिलो महिला अध्यक्षसमेत बन्नुभएको थियो । बस्नेत विभिन्न मानव अधिकारको क्षेत्रका संस्थामा आवद्ध भई क्रियाशील हुनुहुन्छ ।
मुख्यन्याधिवक्ताबाट राजीनामा दिनुभएका अधिवक्ता काफ्ले गत वर्ष भदौ २ गते नियुक्त हुनुभएको हो । काफ्लेले पुस १ गतेबाट लागू हुने गरी मुख्यन्याधिवक्ता पदबाट राजीनामा दिनुभएको थियो ।

ताजा समाचार

Related Articles