हेटौँडा, पुस ११ गते । हेटौँडा उपमहानगरपालिका १९, बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–१० स्थित तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम भएको छ ।
प्रतियोगितामा हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय दोस्रो, हेटौँडा–३ स्थित सनसाईन इंग्लिस बोर्डिङ् स्कूल तेस्रो र हेटौँडा–१९, ज्यामिरेस्थित अरनिको आधारभूत विद्यालय चौथो भएको अयोजक विद्यालयले जनाएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयहरुले क्रमशः १५ हजार, १० हजार, छ हजार र चार हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका भित्रका १० विद्यालयको सहभागिता थियो । प्रतियोगिता बालचन्द्र लामिछानेको संयोजकत्वमा भएको हो ।
स्वर्ण महोत्सव कार्यक्रम शनिबार सम्पन्न हुँदैछ ।




