खासकुरा संवाददाता
हेटौँडा, पुस ११ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सिन्धुलीको कमलामाई नगरपालिका ४ मा स्थापना गरिएको दुध सङ्कलन तथा चिस्यान केन्द्रको उद्घाटन गर्नुभएको छ ।
बागमती प्रदेश सरकार अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौँडाले आव २०८१/०८२ मा पशुपन्छी मूल्य श्रृङ्खला कार्यक्रम अन्तर्गत हेफर इन्टरनेशनल नेपालले साझेदार संस्था सिन्धुली एकीकृत विकास सेवाले गठन गरेको कमलामाई सामाजिक उद्यमी महिला दुग्ध सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा २५ लाख रुपियाँको अनुदान सहयोगमा उक्त केन्द्र निर्माण गरेको हो ।

सहकारी संस्थाकी अध्यक्ष गुण कुमारी घिमरेको अध्यक्षतामा भएको सो कार्यक्रमा हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मी, कमलामाई नगरपालिकाका नगर प्रमुख उज्ज्वल पोख्रेल, मरिण गाउँपालिकाका उपाध्यक्ष विमला माझी, कृषि तथा पशुपन्छी विकास मन्त्रालय योजना महाशाखाका प्रमुख सुजन कंडेल, पशु सेवा कार्यालय, सिन्धुलीका प्रमुख डा. ध्रुव डि.सी., कृषि विकास कार्यालय, सिन्धुलीका प्रमुख अनुप अधिकारीलगायतको उपस्थिति रहेको थियो । उक्त सुविधा सम्पन्न दुध संकलन, चिस्यान तथा प्रशोधन केन्द्र निर्माणसँगै त्यसक्षेत्रका गाईभैंसीपालक किसान लाभान्वित हुनेभएका छन् ।




