हेटौँडा, पुस १४ गते । मातृभूमि साहित्य समाज, हेटौँडाले सुप्रसिद्ध गायिका कुन्ती मोक्तानलाई मातृभूमि सङ्गीत पुरस्कार प्रदान गर्ने भएको छ ।
समाजले नित्य गोविन्द स्मृति–मातृभूमि सङ्गीत पुरस्कार २०८१ बाट मोक्तानलाई हेटौँडामा सम्मान गर्न लागेको हो ।
समाजका सचिव किशन पौडेलले नेपाली गीत सङ्गीतको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत २५ हजार रुपियाँ राशिको उक्त पुरस्कारसहित मोक्तानलाई सम्मान गर्न लागेको जानकारी दिनुभयो ।

समाजले मातृभूमि राष्ट्रिय पुरस्कार–२०८१ बाट वरिष्ठ साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतमलाई सम्मान गर्ने निर्णय गरेको छ । उक्त सम्मानको राशि २५ हजार रुपियाँसहित प्रमाणपत्र रहेको छ ।
यस्तै २१ हजार रुपियाँ राशिको मायादेवी मातृभूमि पुरस्कार–२०८१ नियात्राकार भवानी खतिवडा, १५ हजार रुपियाँ राशिको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार युवा कवि रोशन परियारलाई र १० हजार रुपियाँ राशिको शारदा उप्रेती स्मृति मातृभूमि सम्मान–२०८१ क्ला साधक जीवन के.सीलाई प्रदान गरिने भएको छ ।

मकवानपुर श्री सम्मान–२०८२ सामाजिक अभियन्ता विश्व कान्ति कलावतीलाई समर्पण गरिने सचिव पौडेलले बताउनुभयो ।
नेपाली भाषा, साहित्य र कलाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले २०५६ सालमा स्थापना भएको यस संस्थाले विविध साहित्यिक कार्यक्रमहरूसँगै स्थापित एवम् नवोदित प्रतिभाहरूलाई विभिन्न विधामा सत्र वटा पुरस्कार एवम् सम्मान समर्पण गर्दै आएको छ ।
समाजका सचिव पौडेलले नेपाली भाषा, साहित्य र कलाको उन्नयनका लागि यही पुस १९ गते शनिबार हेटौँडामा कार्यक्रम आयोजना गरी परिचर्चा एवम् रचना वाचनसँगै स्रष्टा सम्मान गरिने बताउनुभयो ।




