वीरगन्ज (पर्सा), पुस २२ गते । सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको ‘कर्फ्यु’ पनि आज ३ः३० बजेदेखि हटाइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगन्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता गरेसँगै कर्फ्यु हटाउने निर्णय भएको जानकारी दिनु भयो । “यहाँका दुई समुदायबिच सहमति र यहाँको शान्तिसुरक्षाको अवस्था सहज बन्दै गएपछि कर्फ्यु हटाउने निर्णय गरेका हौँ,” उहाँले भन्नुभयो, “अब यहाँको जनजीवन सामान्यतर्फ उन्मुख भइरहेको छ ।”

सो बैठकले आन्दोलनरत पक्षले विरोध प्रदर्शन गर्नु अघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र पेस गर्न जोड दिने, तत्पश्चात् मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताइएको छ । “भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक, सद्भाव विरुद्धका गतिविधिहरूलाई नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियाशील राजनीतिक दलहरू एवं विभिन्न धार्मिक समुदायका अगुवाहरू रहने तपसिल बमोजिमको स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय भएको छ,” उहाँले भन्नु भयो ।




