हेटौँडा, २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक सूचीमा चेपाङ समुदायका तीन जना परेका छन् ।
सीमान्तकृत समुदायका मकवानपुरका एकसहित तीन जना चेपाङ समुदायका समानुपाति सूचीमा परेका हुन् ।
संविधान सभाका सदस्य एवं नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले फरक तीन वटा पार्टीबाट तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि समाुनुपातिक सूचीमा समेटिएको जानकारी दिनुभयो ।
उहाँले मकवानपुरको एक र चितवनमा दुई जना चेपाङ समुदायका समानुपातिक सूचीमा परेको बताउनुभयो ।
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र गतिशील लोकतान्त्रिक पार्टीले एक–एक जना समानुपातिकको बन्द सूचीमा राखेको छ ।

नेकपाबाट प्रतिनिधि सभा समानुपातिक सूचीमा पर्नेमा मकवानपुरको साविक हाडीखोला गाविस हालको मनहरी गाउँपालिका वडा नं. ३ स्थित सिद्धकालीका मङ्गलसिंह चेपाङ हुनुहुन्छ ।
सशस्त्र सङ्घर्षमा सहभागी हुनु भएका मङ्गलसिंह पछिल्लो समय आफ्नो व्यवसायसँगै पार्टी सङ्गठनमा ब्रियाशील हुनुहुन्छ ।
एमालेबाट चितवनको कालिका नगरपालिका शिक्तखोरका सन्तबहादुर चेपाङ समानुपातिक सूचीमा पर्नुभएको छ । सन्तबहादुर नेपाल चेपाङ सङ्गमा आवद्ध भएर क्रियाशील हुँदै आउनुभएको छ ।
यस्तै नवगठित गतिशील लोकतान्त्रिक पार्टीले चितवनको राप्ती नगरपालिका कोराकका विश्वास चेपाङलाई समानुपातिक सूचीमा समेटेको छ । विश्वास सामाजिक अभियान्ता हुनुहुन्छ ।

चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम नीति निर्माण तहमा सीमान्तकृत समुदायको आवाज पु¥याउन सहज हुने बताउनुभयो ।
देश सङ्घीयतामा गएसँगै सीमान्तकृत चेपाङ समुदायले नीति निर्माणदेखि कार्यकारी भूमिका निर्वाह गर्नेसमेत अवसर पाएका छन् । २०६४ सालको संविधान सभा सदस्यमा एमालेले मकवानपुरका गोविन्दराम चेपाङ र तत्कालीन माओवादी गोरखाकी माया चेपाङलाई संविधानसभा सदस्य बनाएको थियो ।

यस्तै नेपाली कांग्रेसले मकवानपुरका सन्तबहादुर प्रजालाई प्रदेश सभा सदस्य हुँदै प्रदेश सरकारको जिम्मेवारीमा पु¥याएको थियो । प्रदेश सभाको पहिलो कार्यकालमा सन्तबहादुर बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्नुभएको थियो ।
पूर्व राज्यमन्त्री सन्तबहादुरले पछिल्लो समयमा मधेशी, दलित, जनजाति, सीमान्तकृतलगायतको नाममा पहुँचवाला र प्रभावशालीले अवसर पाउनु संघीयता र संविधानको भावना अनुसार नभएको बताउनुभयो ।
समानुपातिक कोटामा संविधानको मर्म र भावना अनुसार अवसर पाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
२०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङ समुदायको जनसङ्ख्या ८४ हजार ३ सय ६४ रहेको छ ।




