काठमाडौँ, पुस २७ गते। नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र कोही मालिक र दास नरहेको भन्दै कार्यकर्ताको भावनाको सम्मान गर्नुपर्ने बताउनु भएको छ । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र कोही मालिक र दास नरहने भन्दै यदि अवस्था रहेको भएपनि विशेष अधिवेशनसँगै त्यो भत्किएको बताउनु भएको हो ।

“कांग्रेस दास र लाशहरुको पार्टी होइन । कांग्रेसमा प्रश्न मरेको छैन । यहाँ कोही बा छैन नबोल भन्दा बोल्न छाड्ने छैन । पार्टीभित्र कोही मालिक र दास छैन । थियो भने पनि आजबाट भत्कियो । भोलि जो आए पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन । तल बस्नेलाई माथि बस्नेले निहुरिएर जय नेपाल गर्नुपर्छ ।”

विशेष महाधिवेशनले के निर्णय गर्छ भन्ने बारेमा आफूलाई केही थाहा नभएको बताउनु हुँदै थापाले उक्त निर्णय आफुलाई स्वीकार्य भएको बताउनु भयो ।




