काठमाडाैं, पुस २८ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल परिमार्जन गरेर अघि बढ्नुपर्ने प्रस्ताव गर्नुभएको छ । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको अगुवाइमा भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आजको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै शर्माले सङ्गठनलाई समावेशी, युवा–मैत्री र प्रभावकारी बनाउने गरी विधान संशोधन गर्न आवश्यक रहेको बताउनुभयो ।
महामन्त्री शर्माले पार्टीको विधानमा प्रतिनिधित्वसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको उल्लेख गर्दै केन्द्रीय समितिमा ३० वर्षमुनिका २० र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० गरी कूल ४० जना युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । त्यस्तै प्रदेश कार्यसमितिमा पनि दुवै उमेर समूहका १०–१० जनाको व्यवस्था गरिनुपर्ने उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्ला, सङ्घीय निर्वाचन क्षेत्र, प्रदेशसभा क्षेत्र र पालिका कार्यसमितिमा न्यूनतम ६–६ जना तथा वडा कार्यसमितिमा न्यूनतम ४–४ जना सो उमेर समूहका प्रतिनिधि रहने व्यवस्था प्रस्ताव गरिएको छ । केन्द्र र प्रदेश महाधिवेशनका प्रतिनिधि हरेक निर्वाचन क्षेत्रबाट न्यूनतम दुई महिला र कम्तीमा एक जना ३० वर्षमुनिको हुने गरी चार जना रहने प्रस्तावसमेत गरिएको छ ।
महामन्त्री शर्माको प्रस्तावमा बौद्धिक र व्यावसायिक क्षेत्रका व्यक्तिलाई पार्टीमा आकर्षित गर्न ‘ल्याट्रल इन्ट्री’ को उपयुक्त प्रक्रियासम्बन्धी नयाँ व्यवस्था गर्नुपर्ने उल्लेख छ । साथै विदेशमा रहेका नेपालीबीचको समन्वय र प्रभावकारिता बढाउन नेपाली जनसम्पर्क समितिको एक अन्तरराष्ट्रिय संरचना निर्माण गर्ने प्रस्ताव गरिएको छ । यसैगरी प्रत्येक देशका नेपाली जनसम्पर्क समितिका वर्तमान तथा पूर्व अध्यक्षहरू अन्तरराष्ट्रिय परिषद्का सदस्य हुनेछन् । सो परिषद्ले पूर्व अध्यक्षहरूमध्येबाट २७ सदस्यीय अन्तरराष्ट्रिय जनसम्पर्क समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।
अन्तरराष्ट्रिय जनसम्पर्क समितिमा अध्यक्ष एक, महिला उपाध्यक्ष र महामन्त्री एक–एक, प्रत्येक महादेशबाट एक खुला उपाध्यक्ष, दुई जना खुला महामन्त्री, एक महिला सहमहामन्त्रीसहित प्रत्येक महादेशबाट एक–एकजना खुला सहमहामन्त्री रहने व्यवस्था प्रस्ताव गरिएको छ । कोषाध्यक्ष भने अध्यक्षबाट मनोनित गरिनेछ ।
पार्टीको महाधिवेशनमा हरेक देशबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूले ‘एक महादेश, एक केन्द्रीय सदस्य’को अवधारणाअनुसार आ–आफ्ना महादेशबाट एक केन्द्रीय सदस्य चयन गर्ने प्रस्ताव गरिएको छ । मध्यपूर्वका लागि विशेष व्यवस्था गर्दै छुट्टै एक केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था पनि प्रस्तावमा समावेश छ । विधान संशोधनमार्फत पूर्व आप्रवासी नेपालीहरूको सहभागितालाई पनि सुनिश्चित गर्न प्रस्ताव गरिएको छ ।
विदेशमा एक दशकभन्दा बढी समय बिताएर महाधिवेशनभन्दा दुई वर्षअघि परिवारसहित स्वदेश फर्किएका नेपालीलाई वडादेखि केन्द्रसम्मका प्रत्येक तहमा न्यूनतम एक महिलासहित तीन जनाको प्रतिनिधित्व गराइने प्रस्ताव गरिएको छ । त्यस्तै, प्रदेश निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमध्येबाट न्यूनतम एक महिलासहित तीन जना प्रदेश कार्यसमितिमा र सङ्घीय निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमध्येबाट न्यूनतम एक महिलासहित तीन जना केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यस्तै, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पार्टीको महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिमध्ये संस्थाको सिफारिसमा उम्मेदवार भएका व्यक्तिबीचबाट न्यूनतम एक महिलासहित तीन जना केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था पनि प्रस्तावमा उल्लेख छ । जिल्ला तथा अन्य कार्यसमितिलाई छरितो र प्रभावकारी बनाउने व्यावहारिक विधि अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । विधानसँग सम्बन्धित थप विषयमा प्रत्यक्ष वा समानुपातिक प्रतिनिधित्वको निश्चित कार्यकाल अर्थात् एकपटक समानुपातिक÷अन्तिमपटक समानुपातिकको व्यवस्था, नेपाली कांग्रेस जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका र सामाजिक रूपान्तरण नेतृत्व निर्देशिका निर्माण गर्ने प्रस्ताव गरिएको छ ।
साथै महाधिवेशन क्रममा पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यदेखि सबै तहका पदाधिकारीहरू पार्टीको तल्लो कमिटीबाट क्रमशः निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्ने प्रस्तावसमेत पेस गरिएको छ । यसलाई विशेष महाधिवेशनको सुझावअनुसार परिमार्जन गर्दै विधानमा थप व्यवस्था गर्न सकिने महामन्त्री शर्माले जानकारी दिनुभयो ।



