समानुपातिक सूचीबाट १७५ जनाको नाम फिर्ता

लोकप्रिय

काठमाडौँ, पुस २९ गते । निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूचीमा नाम बुझाएका  १७ दलका १७५ जनाले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार बन्दसूचीमा नाम समावेश गरिएका उम्मेदवार आयोगमा उपस्थित भएर नाम फिर्ता लिएका हुन् । निर्वाचन कार्यक्रम अनुसार पुस १३ र १४ गते दलले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए ।

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गते सोमबार बिहान १०ः०० बजेदेखि ४ः०० बजेसम्म फिर्ता लिन सक्ने भनी निर्वाचन आयोगले सूचना प्रकाशित गरेको थियो । उक्त अवधिमा एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेद्वारले नाम फिर्ता लिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । फिर्ता लिनेमा एकल चुनाव चिह्नबाट बन्द सूचीमा नाम पेस गर्ने राजनीतिक दलका उम्मेदवारसमेत छन् । नाम फिर्ता लिनेमा सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का ११० उम्मेदवार रहेको सहायक प्रवक्ता जिसीले बताउनुभयो । उक्त पार्टी अन्य दलसँग मिलेकाले पेस भएका ११० जना उम्मेदवारको नाम बन्दसूचीबाट फिर्ता लिएको जनाइएको छ ।

यसैगरी जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका छ र नेकपा (एमाले)का पाँच जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका चार-चार जना उम्मेदवारले पनि नाम फिर्ता लिएका छन् । यस्तै, नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका  दुई-दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका एक-एक उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । यसैगरी गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक-एक जना उम्मेदवारले नाम फिर्ता लिएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि यही पुस १३ र १४ गते दलहरूले आयोगमा नाम पेस गरेका थिए ।

ताजा समाचार

Related Articles