खासकुरा संवाददाता
हेटौँडा, पुस ७ गते । हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित नगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालय परिसरमा मङ्गलबार भएको प्रतियोगितामा हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम भएको छ । विद्यालयले ५० हजार रुपियाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छ ।

यस्तै हेटौँडा–४ स्थित ब्रह्मदिक एकेडेमी द्वितीय, हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जिएस) निकेतन माध्यमिक विद्यालय तृतीय र हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालय सन्त्वना स्थान हासिल गरेको प्रतियोगिताका संयोजक बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालयको बाल समूहको आयोजना तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयको सहकार्यमा भएको प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयले क्रमशः २५ हजार, १५ हजार र पाँच हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा संस्थागत र सामुदायिक गरी ३६ वटा विद्यालयको सहभागिता रहेको थियो । विजेता र उपविजेता विद्यालय र विद्यार्थीहरुलाई बिहीबार स्वर्ण महोत्सवको समापन समारोहमा पुरस्कार वितरण गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।




