हेटौँडा, माघ १६ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अबको शिक्षा मानवता र नैतिकता मूल्यमा आधारित हुनुपर्ने बताउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका ५ स्थित ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयको रजत महोत्सव शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले अब प्राविधिक शिक्षाका साथै मानव मूल्यमा आधारित हुनुपर्ने बताउनुभएको हो ।

उहाँले आजभन्दा २५ वर्ष अघि अंग्रेजी माध्यमबाट शिक्षा शुरू गरेको ज्ञानदिप शिक्षा निकेतनले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै शिक्षा क्षेत्रमा रहेका समस्याहरु समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । अहिलेको युग सूचना प्रविधिको युग भएकाले शिक्षामा पनि यसलाई सदुपयोग गर्नुपर्नेमा उहाँको जोड थियोे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, हेटौँडा–५ का वडाध्यक्ष सुशील घिमिरे, राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख बद्रीबहादुर पाठकलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यावारधी गर्नेसहित विभिन्न विधामा सम्मान गरिएको थियो । रजत महोत्सव तीन दिनसम्म चल्ने छ ।




