खासकुरा संवाददाता
हेटौँडा, माघ १६ गते । नेपाली कांग्रेस मकवानपुरले आसन्न प्रतिनिधि सभा निर्वाचनको आन्तरिक तयारीलाई तीव्र बनाएको छ ।
कांग्रेस मकवानपुरले आन्तरिक तयारीलाई व्यवस्थित बनाउँदै मतदाताको घरघरसम्म रणनीति बनाउन शुक्रबार हेटौँडामा मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि छनोट तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन समिति मकवानपुरले क्षेत्र नम्बर १ का ४० वटा वडामा खटिने प्रतिनिधिलाई अभिमुखीकरणसँगै जिम्मेवारीसहित पठाएको हो ।
जिल्ला प्रतिनिधिले वडामा पुगेर वडा समितिको बैठकमा सहजीकरण, क्रियाशील सदस्य, भातृसंस्था र शुभेच्छुकको भेला, मतदातासँग भेटघाटलगायतका निर्वाचत लक्षित गतिविधि गर्ने प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सचिव कविन साङ्गामीले जानकारी दिनुभयो ।
प्रतिनिधि छनोट तथा अभिमुखीकरणसँगै प्रतिनिधिहरुसँग छलफल र कांग्रेसको भावी रणनीतिका बारेमा सुझाव लिइएको छ । 

कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवम् कांग्रेस केन्द्रीय समितिका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसभित्रको सम्पूर्ण एकताले कार्यकर्तामा हौसला थपिएको भन्दै निर्वाचनमा व्यवस्थापनलाई चुस्त बनाउन आग्रह गर्नुभयो ।
उहाँले कांग्रेस बदलिएकोले अब देशलाई पनि बदल्ने विश्वास मतदातालाई दिलाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधि सभा निर्वाचन जिल्ला परिचालन समितिका संयोजक माइकल रामचन्द्र अर्यालले जिल्लाबाट खटिएका प्रतिनिधिले वडाको वस्तुस्थिति ल्याउन र कांग्रेसको पक्षमा जनमत तयार गर्ने गरी काम गर्न सुझाउनुभएको थियो । निर्वाचन क्षेत्र नम्बर १ का संघीय सभापति दामोदर खनालले निर्वाचनको तयारी र परिचालनका सन्दर्भमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा समानुपातिकतर्फका उम्मेदवार शर्मिला श्रेष्ठ, निर्वाचन परिचालन समितिका सदस्यहरु रघुरमण न्यौपाने, आनन्दराम पराजुली, विष्णु लामिछाने, भीमसेन महत, लक्ष्मी श्रेष्ठ, ईन्दिरा न्यौपाने, प्रभात दाहाल, सुशान्त श्रेष्ठ, राजेश बानियाँ, उत्सव इटेनी, अशोक शाक्य, भीम लामा, राजीव सुवेदी, ईश्वरलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । निर्वाचन क्षेत्र नम्बर १ मा हेटौँडा उपमहानगरपालिका १५, मकवानपुरगढी गाउँपालिकाका चार, बकैया गाउँपालिकाका १२ र बागमती गाउँपालिकाका नौ वटा वडा गरी ४० वटा वडा रहेको छ ।




