काठमाडौँ, माघ १७ गते । निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन लागिएको निर्वाचन आयोगले जनाएको छ । आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्धन एकाइले यस विषयमा काम गरिरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

एकाइले पत्ता लगाएका कुल ३०२ वटा हानिकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको पनि उहाँले बताउनुभयो । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगबाट निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत भई लागु भएको छ।

माघ ४ गते राति १२ः०० बजेदेखि लागु भएको आचारसंहिता उल्लङ्घनका घटनामा तोकिएका निकायले उजुरी तथा जानकारी लिने र उल्लङ्घनमा संलग्न भएका भनिएका राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारीसँग आवश्यक स्पष्टीकरण लिने कार्यसमेत भइरहेको छ । निर्वाचन अवधिभर आचारसंहिताको पूर्ण पालना गराउन सरोकार भएका सबै पक्षलाई ध्यानाकर्षण गराउँदै निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिमको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता लागु भएदेखि माघ १४ गतेसम्म राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । त्यसमध्ये आठ वटाको जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको जनाइएको छ । निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने गरी कुनै गतिविधि भएमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश, जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक एवं विद्युतीय माध्यमबाट उजुरी दिन सकिने उहाँले बताउनुभयो ।




