नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आग्रह

लोकप्रिय

जापान, माघ १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न जापानी लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक मुद्दाहरूलाई निष्कर्षमा पुर्‍याएपश्चात्, नेपालको प्राथमिकता अब नेपाली जनताको द्रुत सामाजिक–आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको छ भन्नुभयो ।

उहाँले उक्त कार्यक्रमले नेपाल–जापानको कूटनीतिक सम्बन्धलाई नयाँ स्तरमा पुर्‍याउन र आगामी वर्षहरूमा गहिरो तथा फलदायी द्विपक्षीय सहकार्यको लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । “नेपाल र जापानबिच विशेष गरी भगवान् बुद्धको शिक्षामा आधारित संस्कृति, धर्म, मूल्यमान्यता र जीवन पद्धतिमा समानता छ, बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गर्दछ, विश्व शान्तिको मुहानको रूपमा लुम्बिनीको विकासमा जापानको निरन्तर सहयोगप्रति हामी आभारी छौँ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले विकास सहायता, व्यापार, लगानी, पर्यटन र अन्य विभिन्न क्षेत्रमा जापान नेपालको एक प्रमुख साझेदार रहिआएको बताउनुभयो । यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित देशको तहबाट स्तरोन्नति हुने तथा २०३० सम्ममा मध्यम आय भएको देश बन्नु अर्को महत्वपूर्ण उपलब्धी हुने प्रसङ्ग उहाँले उल्लेख गर्नुभयो ।

नेपाल जापानीहरूको मनपर्ने पर्यटकीय गन्तव्य रहेकोमा उहाँले प्रसन्नता व्यक्त गर्नुभयो । जापान नेपाली युवा र विद्यार्थीहरूको रोजाइँमा परेको र जापानमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चितता गरेकोमा जापानप्रति उहाँले आभार व्यक्त गर्नुभयो । सो अवसरमा जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले यस प्रकारको भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles