काठमाडौँ, माघ १९ गते । राष्ट्रियसभाको आजको बैठकले तीन वटा अध्यादेशहरू स्वीकृत गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रस्ताव प्रस्तुत गर्नुभएको मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश–२०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश–२०८२ र नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश–२०८२ लाई सभाले स्वीकृत गरेको हो ।

यसैगरी बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सदाचार नीति सांसदहरूले छलफलमा उठाएका विषय र प्रधानमन्त्री सुशीला कार्कीले व्यक्त गर्नुभएको विचारसहित प्रतिवेदनमा भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिनुभयो । यसैगरी बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले अध्यागमन ऐन र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ लाई सभा समक्ष पेस गर्नुभयो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा रहेका कारण संविधान अनुसार राष्ट्रपतिले गर्ने कार्यहरू उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्पादन गर्ने गरी कार्यभार तोकिएको सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमा ब्यहोरा पढेर सुनाउनुभयो । राष्ट्रियसभाको अर्को बैठक माघ २३ गते शुक्रवार दिउसो १ बजेर १५ मिनेटमा बस्ने छ ।




