खासकुरा संवाददाता
हेटौँडा, माघ १९ गते । नेपाली कांग्रेस मकवानपुरले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सम्पर्क कार्यालय स्थापना र अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ ।
कार्यकर्ता परिचालनसँगै मतदाताको घरघरसम्म पुग्न वडा तहको कार्यक्रमलाई काग्रेसले तीव्रता दिएको हो ।
यसैक्रममा सोमबार हेटौँडा उपमहानगपालिकाको वडा नम्बर १६, १७ र १८ मा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
कार्यक्रममा कांग्रेसका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्यायले कांग्रेस नवीन सोच र नेतृत्वका साथ निर्वाचनमा आएको बताउनुभयो ।
उहाँले सम्मुन्नत नेपाल निर्माणको संकल्प कांग्रेसले लिएको भन्दै यो क्षमता कांग्रेसमा मात्र रहेको बताउनुभयो ।
हेटौँडा १७ को गैरीगाउँमा सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले नीति निर्माणदेखि विकासका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडा सभापति नवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रृेस मकवानपुरका नेता आनन्दराम पराजुली, कृष्णप्रसाद सञ्जेल, घनश्याम नेपाल, संघीय सभापति दामोदर खनाल, कांग्रेस नेतृ रिता खनाललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा समानुपातिकतर्फका उम्मेदवार शर्मिला श्रेष्ठ, निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र अर्याल माइकल, जिल्ला सचिव भीमसेन महत, सहसचिव ईन्दिरा न्यौपाने, जिल्ला सदस्य तारा राई कार्की, नेपाल तरुण दलका केन्द्रीय सदस्य गोपी दाहाललगायतको उपस्थिति रहेको थियो ।




