लोकतान्त्रिक शक्तिबिच चुनावी सहकार्य हुनसक्छ : नेता बादल

लोकप्रिय

काठमाडौँ, माघ २१ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा ‘बादल’ ले निश्चित केही निर्वाचन क्षेत्रमा लोकतान्त्रिक शक्तिबिच चुनावी सहकार्य हुनसक्ने बताउनुभएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा आज नेकपा (एमाले) को तर्फबाट पत्रकार सम्मेलन गर्दै उहाँले सो कुरा बताउनु हुँदै तर त्यस विषयमा निर्णय हुन बाँकी रहेको बताउनुभयो । ‘देश जलाउने र देश बनाउने’ पक्षबिच मुख्य लडाइ अहिले रहेकाले देश बनाउन चाहने लोकतान्त्रिक शक्तिबिच चुनावी सहकार्य हुने अवस्था बन्नसक्छ, उहाँले भन्नुभयो ।

नेकपा (एमाले) विरुद्ध, एमाले नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा व्यापक प्रहार भइरहेको बताउँदै उहाँले प्रविधिको दुरुपयोग गरी एमालेको झण्डा समेत दुरुपयोग भएकाले त्यसविरुद्ध एमालेले कानुनी उपचार खोज्ने बताउनुभयो । “देशको मुख्य पार्टी र नेतृत्वलाई सखाप पारेर देश कब्जा गर्ने षडयन्त्र भइरहेको छ, त्यसको डटेर सामना गर्न लोकतान्त्रिक शक्तिबिचको सहकार्य र एकता अनिवार्य छ” नेता बादलले भन्नुभयो, “एमालेलाई सखाप पार्ने अभियान चलिरहेको छ, त्यसको सामना हामी जनताको साथ लिएर गर्ने छौं ।”

प्रतिगमनलाई वैधता दिने प्रयास भए पनि त्यसलाई जनताले परास्त गर्ने विश्वास व्यक्त गर्नुहुँदै नेता बादलले भन्नुभयो, “सर्वोच्च अदालतले समयमै निर्णय नगर्दा देशले निकास पाउन ढिलो भएको छ । न्यायालयले निर्णय दिन ढिलो गर्नु भनेको प्रतिगमनलाई फाइदा पुग्नु हो ।”

ताजा समाचार

Related Articles