हेटौँडा, माघ २८ गते । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले भ्रष्टाचार नियन्त्रणका लागि कानुनको दायरामा ल्याउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् । उहाँले भ्रष्टाचार समाजको प्राणघातक क्यान्सर रोगको रुप भएको भन्दै सार्वजनिक पदधारण गरेकाहरुको जीवनशैली सादगी र पारदर्शी भएमा मुलुकमा भ्रष्टाचार क्रमशः न्यूनीकरण भएर जाने बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसको अवसरमा हेटौँडा कार्यालयले बुधबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा उहाँले भ्रष्टाचार मुलुकको समृद्धि, न्याय र कानुनको शत्रु भएको बताउनुभयो । बोल्दै प्रदेश प्रमुख देवकोटाले भन्नुभयो, ‘अख्तियार एक्लैले मात्र भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन, सबै क्षेत्रको सकारात्मक सहयोग जुटेमात्र भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ ।’

अख्तियार अहिले सक्रिय भएर भ्रष्टचारीहरुलाई कानुनी दायरामा ल्याउन थालेको प्रशंसा गर्दै उहाँले भ्रष्टाचारमुक्त समाज निर्माण गर्न हाम्रा जीवनशैली सादगी र व्यवहार पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिँदैनौं भन्ने तर व्यवहारमा नउतार्ने हाम्रो समाजको समस्या बनेको बताउनुभयो । उहाँले भ्रष्टाचार मुलुकको विकास र समृद्धिको बाधक भएको भन्दै जो जहाँ छ उसले आफ्नो स्थानमा इमान्दार र निष्ठापूर्वक काम गरेमा भ्रष्टाचार नहुने बताउनुभयो ।
मुखले मात्र भ्रष्टाचार गर्दिनँ भनेर हुँदैन, व्यवहारमा नै देखाउनु पर्छ उहाँको स्पष्ट भनाई छ ।

आयोग हेटौँडाका कार्यालय प्रमुख रामकृष्ण पुडासैनीले कार्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको सो कार्यक्रममा
बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईं, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, शिक्षाध्यक्ष प्रा. डा. दिनेशकुमार लम्साललगायतले बोल्नुभएको थियो ।




