सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

लोकप्रिय

काठमाडौँ, माघ २९ गते । निर्वाचन आयोगले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि चुनाव प्रचारप्रसार र मतदानको दिन सवारीसाधन प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन सो कार्यविधि जारी गरिएको जानकारी दिनुभयो । निर्वाचन आयोग ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी आयोगले सो कार्यविधि जारी गरेको हो ।

आसन्न प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन प्रचारप्रसारको अवधिमा तथा मतदानको दिन प्रयोग गर्ने सवारीसाधनको अनुमतिलाई व्यवस्थित गर्न आयोगले सो कार्यविधि जारी गरिएको हो । कार्यविधिमा उल्लेख गरिएको प्रावधान अनुसार राजनीतिक दल र उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले निर्वाचनको प्रचारप्रसार वा निर्वाचनको दिन सवारीसाधन प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । कार्यविधि अनुसार प्रतिनिधि सभा सदस्य उम्मेदवारले बढीमा दुई वटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे (हलुका) सवारीसाधन मात्र प्रयोग गर्न पाउने छन् । सवारीसाधन सञ्चालन नहुने ठाउँका उम्मेदवारले बढीमा चार वटा घोडा प्रयोग गर्न पाउने छन् ।

सवारीसाधन प्रयोगका लागि उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने हुन्छ । मौन अवधिमा सवारीसाधनको सञ्चालन पूर्ण रूपमा प्रतिबन्धित हुनुका साथै मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म प्रचारप्रसारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन । कार्यविधि अनुसार मतदानको दिन अनुमतिप्राप्त सवारीसाधनबाहेक अन्य कुनै पनि सवारीसाधन सञ्चालन गर्न पाइने प्रावधान रहे पनि हवाई उडानको हकमा यो व्यवस्था लागु नहुने स्पष्ट पारिएको छ ।

ताजा समाचार

Related Articles