हेटौँडामा वडास्तरीय खेलकुद महोत्सव सुरु

लोकप्रिय

हेटौँडा, फागुन १ गते । हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजनामा बृहत् खेलकुद र्‍याली
आयोजना गरियो । वडा कार्यालयको आयोजना र शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा भएको तेस्रो वडा स्तरीय खेलकुद महोत्सवको अवसरमा बिहीबार र्‍यालीको आयोजना गरिएको हो ।
र्‍यालीको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि संविधानसभाका सदस्य अनन्त पौडेलले ४ नं. वडा कार्यालयले भौतिक पूर्वाधारका साथै खेलकुद तथा शिक्षालाई प्राथमिकता दिनु महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।
उहाँले खेल गतिविधिले विद्यार्थीको शारिरीक र मानसिक विकाससँगै खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।
वडाध्यक्ष नवीन सिग्देलले खेलकुद र शिक्षा, ४ नं. वडाको प्राथमिकतामा रहेको भन्दै शिक्षा र खेलकुद क्षेत्रलाईसँगै लैजानु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष राजकुमार मोक्तान, टोल विकास संस्था नगर समन्वय समितिको महासचिव शिवहरि दाहाल, आधुनिक राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष महमद समिम, भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमिरेलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा श्रमिक माविका व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, टोल विका संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँ, आधुनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईँलगायतको आथित्यता रहेको थियो ।
कार्यक्रमका सभापती तथा शैक्षिक गुणस्तर सुधार समितिको संयोजक श्रीराम दाहालले महोत्सवमा विभिन्न प्रतियोगितामा गरी तीन सयभन्दा बढी विद्यार्थी पुरस्कृत हुने जानकारी दिनुभयो । महोत्सवमा नगरस्तरीय फुटबल, भलिवल, क्रिकेट, बाँस्केट बल, वडास्तरमा टक अफ वार, एथलेटिक्स, हाजिरी जवाफ, बक्तृत्व, हिज्जे, बादविवाद, कविता, क्वीच प्रतियोगिता भएको खेलकुद संयोजक राजाराम पोखरेलले जानकारी भयो । विजेताहरूलाई यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

ताजा समाचार

Related Articles