काठमाडौँ, फागुन १ गते । प्रधानमन्त्री सुशीला कार्कीले अहिलेसम्मको तयारी र प्रगतिले आगामी निर्वाचन शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न हुनेमा विश्वस्त रहेको बताउनुभएको छ । सोलुखुम्बुको नाम्चे र सल्लेरीमा स्थानीयवासी र सरकारी निकायसँग संवाद गर्दै उहाँले यो निर्वाचन सामान्य अवस्थाको नियमित प्रकृतिको नभएर विशेष अवस्थामा हुन लागेको प्रस्ट पार्नुभयो । यसलाई विशेष तयारीका साथ सम्पन्न गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “सकेसम्म धेरै मतदाता सहभागी गराउन हाम्रो प्रयास रहनु पर्छ । स्वतन्त्र र विश्वसनीय वातावरणमा धेरैभन्दा धेरै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनु पर्छ ।

त्यसका लागि हामीले सकेको सबै प्रयत्न गर्छौं, गर्नु पर्छ । फागुन २१ गते एकै दिन देशभर एकसाथ निर्वाचन हुन्छ ।”

सल्लेरीमा मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे, प्रमुख सेनानी विजयप्रकाश आङ्देम्बे, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पाण्डेय, स्थानीय जनप्रतिनिधिलगायतको उपस्थितिमा छलफल भयो । सल्लेरीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पोखरेल र प्रमुख जिल्ला अधिकारी केसीले निर्वाचन तयारीबारे जानकारी गराउनुभयो । प्रजिअ केसीले शान्ति सुरक्षाका दृष्टिले कुनै समस्या नरहेको, यहाँको जनजीवन शान्त रहेको र हालसम्म मौसमी प्रतिकूलता पनि नदेखिएको जानकारी दिनुभयो । उहाँले केही वर्षयताको मौसमी विवरण हेर्दा फागुनमा हिमपात भएका घटना कम रहेको पनि बताउनुभयो ।

उहाँले केही गरी हिमपात भइहाले उच्च हिमाली क्षेत्रका केही स्थानमा वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन सक्ने बताउनुभयो । त्यसै गरी प्रधानमन्त्री कार्कीले भोजपुरमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश नारायणप्रसाद दाहाल र जिल्लास्थित सुरक्षा प्रमुखसँग अन्तरक्रिया गर्नुभयो । त्यस क्रममा जिल्लामा भइरहेको निर्वाचनको तयारी र सुरक्षा योजनाका विषयमा जानकारी गराइएको छ ।




