उदयपुर, फागुन २ गते । एन्फा महिला च्याम्पियनसिप २०८२ अन्तर्गत शनिबार उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशालामा सम्पन्न खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड विजयी भएका छन् ।

पहिलो खेलमा नेपाल पुलिस क्लबले एफसी रियललाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो । पुलिसको जितमा जर्सी नम्बर ९ की रेखा पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत ६ गोल गरिन् । उनले खेलको ११, १२, ४५, ४७, ७२ र ७७ औँ मिनेटमा गोल गरिन् ।

त्यसैगरी, पूजा लामाले १४ औँ मिनेटमा एक गोल गरिन् भने मीना देउवाले १८ र ४९ औँ मिनेटमा दुई गोल थपिन् । बिर्सना चौधरीले ६७ औँ मिनेटमा एक गोल गर्दै टोलीलाई फराकिलो जित दिलाइन् । उक्त खेलमा उत्कृष्ट प्रदर्शनका लागि रेखा पौडेल म्यान अफ दि म्याच घोषित भइन् ।

दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडले छहारी एफसीलाई १–० ले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ७८ औँ मिनेटमा वर्षा ओलीले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाइन् ।

उक्त खेलमा उत्कृष्ट प्रदर्शनका लागि वर्षा ओली म्यान अफ दि म्याच घोषित भइन् ।

प्रतियोगिता अन्तर्गत फागुन ३ गते एपीएफ एफसी र आरएस रिसोर्टबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।




