मकवानपुरको दुवै क्षेत्रमा कांग्रेसले जित्ने पक्का छः सभापति बानियाँ

लोकप्रिय

हेटौँडा, फागुन २ गते । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवारले प्रत्येक वडाबाट बढी भोट ल्याए मात्रै आगामी स्थानीय तहको निर्वाचनमा वडा र पालिका जित्न सकिने बताउनुभएको छ । कांग्रेस हेटौंडा ४ नम्बर वडा समितिले शनिबार हेटौँडामा आयोजना गरेको वडा भेलालाई सम्बोधन गर्दै उनले अहिले प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई जिताउने र पछि वडा तथा पालिका समेत जित्ने गरी लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

‘राष्ट्रले चिनेको महालक्ष्मी उपाध्यायलाई मकवानपुरले चिन्न सकेको छैन । यो दुखद् कुरा हो’, बानियाँले भन्नुभयो, ‘यो पटक मकवानपुरको दुवै सिट कांग्रेसका उम्मेदवारले जित्ने पक्का छ । अहिले प्रत्येक वडाबाट कांग्रेसका उम्मेदवारलाई बढी भोट आउने वातावरण बनाउनुभयो भने अर्को पटक वडा र पालिका जित्न सहज हुनेछ ।’ क्षेत्र नम्बर १ का उम्मेदवार डिना उपाध्यायले जितेमा अब बन्ने सरकारमा महत्वपूर्ण मन्त्रालय पाउने निश्चित भएको उहाँको भनाई थियो । ‘आन्दोलनबाट आएको र दशकौं कांग्रेस पार्टीबाट योगदान पु¥याएको सशक्त महिला उम्मेदवारलाई हामीले जिताएर पठायौं भने उहाँले महत्वपूर्ण मन्त्रालय पाउने निश्चित छ’, प्रदेश सभापति बानियाँले भन्नुभयो, ‘मकवानपुरले यहाँको मन्त्री पाउँदा जिल्लाको विकास र समृद्धिका लागि सहज हुनेछ । हामी मिलेरै जिल्लाको विकासका लागि काम गर्नेछौं ।’ उहाँले निर्वाचनका लागि आ–आफ्नै वडामा खटिन समेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

कांग्रेस हेटौँडा ४ नम्बर वडा सभापति हरि पौडेलकोे अध्यक्षतमा भएको कार्यक्रममा निर्वाचन परिचालन समिति सदस्य रिता खनाल, मकवानपुर क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, बागमती प्रदेश सदस्य प्रदीप कोइराला, कांग्रेस ४ नम्बर वडा सचिव रमेश मुडवरीलगायतले बोल्नुभएकाके थियो ।

ताजा समाचार

Related Articles