हेटौँडा, फाुगन ४ गते । मकवानपुरका राजनीतिक दलहरुले निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । बालअधिकारको क्षेत्रमा क्रियाशील संस्थाहरुले सोमबार हेटौँडामा आयोजना गरेको निर्वाचनको सन्दर्भमा बालअधिकारको संरक्षणका लागि सरोकारवालाहरुको भूमिका विषयक बागमती प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा चार दलले निर्वाचनमा बालबालिकालाई दुरुपयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।

इन्सेक, हिमाली नवीन समाज र बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिहरुले निर्वाचनमा बालबालिकाको प्रयोगमा गरिने स्वरुपमा परिवर्तन आएको भन्दै निर्वाचन आचारसंहिता पालनाप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका थिए । उक्त कार्यक्रममा बागमती प्रदेशका उपसभामुख अपसरा चापागाईँ, हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा, कांग्रेसका जिल्ला प्रवक्ता अर्जुनप्रसाद चौलागाईँ, एमालेकी जिल्ला सचिव सीता विष्ट, नेकपाका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, राप्रपाका जिल्ला उपाध्यक्ष अर्जुनप्रसाद गौतमसहित अधिकारकर्मीहरुले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न/नगराउन प्रतिबद्धता जनाउँदै हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा उपसभामुख चापागाईँले बालबालिकाको अधिकार मानवअधिकार हो भन्दै कुनै पनि बहानामा बालबालिकालाई पीडित बनाउन नहुने बताउनुभयो । उहाँले बालबालिका अझै असुरक्षित रहेकोले त्यसलाई न्यूनीकरण गर्न तीनै तहको सरकारको साझा प्रयास आवश्यक भएको बताउनुभयो । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले निर्वाचनको समयमा बालबालिकाको भौतिक रुपमा हुने दुरुपयोग घटेपनि प्रविधिमार्फत दुरुपयोग बढिरहेको भन्दै नियन्त्रण र नियमन आवश्यक भएको बताउनुभयो । उहाँले भूगोलमा भन्दा गुगलमा निर्वाचनको समयमा बालबालिकाको दुरुपयोग बढेको भन्दै निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही गर्नुपर्नेप्रति बताउनुभयो ।

ईन्सेकका बागमती प्रदशे संयोजक शिवप्रसाद खकुरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव विनोद अमात्य, बागमती प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्य, सिजपका अध्यक्ष तिलोत्तमा पौडेल, हिमाली नवीन समाजका प्रतिनिधि केवी रानालगायतले निर्वाचनमा बालबालिकाको दुरुपयोग रोक्न सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।




