जनकपुरधाम, फागुन ६ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेसको नेता नभइ मधेसको बेटा हुन सर्लाहीबाट चुनावी मैदानमा आएको बताउनुभएको छ । बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित कार्यक्रममा प्रतिज्ञापत्र सार्वजनिक गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

“यही सङ्कल्प लिएर आज म कांग्रेसको सभापति भइसकेपछि काठमाडौंको आफ्नो निर्वाचन क्षेत्र नं ४ का मेरा मतदाताहरु मेरा माता पिता, मेरा श्रद्धेय अभिभावक जसले मलाई यत्रो बनाउनुभयो । मेरो क्षेत्रका सबै मतदातालाई धन्यवाद दिएर आज बिहानै मात्र पनि मेरो क्षेत्रमा बस्ने सय वर्ष नाघिसक्नुभएको पुरानो घर सिरहा रहेको दिव्य शताब्दी पुरुष गौरीशंकरलाल दासलाई ढोगेर आशिर्वाद लिएर, मलाई तीन पटक निर्वाचनमा यहाँ जिताउनुभयो”, उहाँले भन्नुभयो, “म मधेस जाँदैछु, सर्लाही जाँदैछु, तपाईको आशिर्वाद लिएर जाँदैछु भनेर सर्लाही आएको छु । मैले यहाँ आएर भनें, म मधेसको नेता हुन यहाँ आएको होइन, मधेसको बेटा हुन आएको हुँ ।” मधेसबाट चुनाव लड्ने घोषणासँगै विभिन्न जिज्ञासाहरु आइरहेको भन्नुहुँदै उहाँले मधेसलाई सम्मान गर्ने नेपाल निर्माण गर्न चाहेको बताउनुभयो ।

“यसो भनेपछि केही साथीहरुले मलाई सामाजिक सञ्जालमा तपाईको आमा मधेसी हो भनेर सोध्नुभयो । मैले भनें, मेरो नसामा मधेसी आमाको रगत छैन । म ढाँट्दिनँ । तर, मेरो यहाँ छातीमा दुर्गानन्द झा छ”, उहाँले भन्नुभयो, “म यहाँबाट कतार गएको मधेसको एउटा युवकको सपना पुरा गर्न आएको छु । म यहाँ एउटा मधेसको माईको सपना पुरा गर्न आएको छु । म मधेसमा डुब्न आएको । म यहाँको समस्या बोक्न् आएको । म नेपाललाई यस्तो बनाउन चाहन्छु । जहाँ काठमाडौंँले बढो मायाका साथ मधेसलाई सम्मान गरोस् ।” नेपाली काँग्रेसका मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा भएको प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रममा उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा रहेको थियो ।




