काठमाडौँ, फागुन ७ गते ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चार माध्यमसँग अनुरोध गर्नुभएको छ। दशौँ निर्वाचन दिवसका अवसरमा आज निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले मत सर्वेक्षणलाई निर्वाचन आचारसंहिताले निषेध गर्ने भएकाले यस्ता घटना भए कारबाही गरिने बताउनुभयो । निर्वाचनका समयमा सत्य समाचारलाई झुट र झुट समाचारलाई सत्य बनाएर प्रस्तुत गर्नसक्ने भएकाले पनि सचेत हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आग्रह गर्नुभयो ।

“राजनीतिक दलका समर्थकले पनि निर्वाचन आचारसंहिता पालना गरेर निर्वाचन गराउनतिर लाग्नुस्, सामाजिक सञ्जाल प्रयोग गरेर कसैलाई मानमर्दन नगरौँ, सत्य र तथ्यमा आधारित भई काम गरौँ, निर्वाचनमा सामाजिक सञ्जाल पेचिलो विषय भएकाले यसको प्रयोग गर्दा ध्यान दिऔँ”, उहाँले भन्नुभयो । कसैको दबाब र प्रभावमा नपरी सही प्रतिनिधि छान्न उहाँले मतदातालाई पनि आह्वान गर्नुभयो । सुरक्षाको बैठक गरेर निर्वाचन सुरक्षाका विषयमा नीति र रणनीति तय गर्न लागिएको जानकारी पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सो अवसरमा गराउनुभएको थियो ।

निर्वाचन आचारसंहिता बाहिर गएर प्रचारप्रसार गरे जिल्लाजिल्लामा निर्वाचन अधिकृतको कार्यालयले कारबाही गर्ने भएकाले सचेत हुन पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । पर्यवेक्षण गर्नेले तोकिएका काम मात्र गर्नुपर्नेमा आयोगले सचेत गराएको छ ।




