हेटौँडा, फागुन ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले उक्त पार्टी परित्याग गर्नुभएको छ ।
सोमबार बिहान सर्लाहीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पराजुलीलाई स्वागत गर्नुभएको हो ।
रास्वपा आवद्ध हुनु पूर्व २०७९ सम्म कांग्रेसमा क्रियाशील पराजुली पुनः कांग्रेसमै फर्किनुभएको हो । रास्वपा मकवानपुरले सोमबार नै हेटौँडामा चुनावी सभा तयारी गर्दै गर्दा रास्वपा मकवानपुरको संस्थापक सभापति पराजुलीलगायतका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गर्नुभएको हो ।


पराजुलीले २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाबाट उम्मेदवार बनेर १२ हजार भन्दा बढी मत ल्याउनुभएको थियो । पराजुलीसँगै रास्वपाका युवा नेता राममणि न्यौपाने पनि कांग्रेस प्रवेश गर्नुभएको छ ।
मकवानपुरको मनहरीलगायतका पश्चिमी क्षेत्र पराजुलीको प्रभावक्षेत्रको रुपमा मानिन्छन् । पराजुली पछिल्लो समय पार्टीभित्रको गतिविधि प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीको विषयमा असन्तुष्ट रहनुभएको थियो ।
यस्तै पार्टीभित्र योगदानको सम्मान नभएको भन्दै रास्वपाका धेरै कार्यकर्ता असन्तुष्ट बनेका छन् ।

कांग्रेस प्रवेश गरेपछि पराजुलीले रास्वपामा उत्तेजना र भेदभावको राजनीति मौलाउँदै गएको बताउनुभयो ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै रास्वपा बसेर इमानदार कार्यकर्ताले राजनीति गर्न नसकिने देखिएकाले कांग्रेसमा फर्किएको बताउनुभएको छ ।
उक्त प्रवेश कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सदस्य ईन्द्र बर्तौला, मनहरी गाउँपालिकाका सभापति प्रकाश बर्तौलालगायतको सहभागिता रहेको थियो ।




