हेटौँडा, फागुन ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह गर्नुभएको छ ।
हेटौँडामा सोमबार आयोजित चुनावी सभामा उहाँले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न र प्राप्त मतपरिणामलाई स्वीकार गर्न सबैसँग आग्रह गर्नुभएको हो । लामिछानेले अब आम जनताले आफ्नै हातले इतिहास रच्ने समय आएको भन्दै निर्वाचन सार्न विभिन्न बहाना खोजिएको आरोप लगाउनुभयो ।
कुनै न कुनै निहुँ बनाएर चुनाव स्थगित गर्ने प्रयास भइरहेको उहाँको भनाई छ ।

फागुन २१ गते हुने निर्वाचनपछि आफ्नो पार्टीले पाँच वर्षसम्म स्थायी सरकार सञ्चालन गर्ने दावी गर्दै उहाँले देशमा कानूनी शासन स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।
सरकार गठन भएमा २०४६ सालपछि भएका सबै प्रमुख काण्डहरूको छानबिन गरिने छ उहाँले भन्नुभयो, ‘देशमा भएका ठूला भष्ट्राचारहरूको फाइल खोल्न रास्वपाको सरकार बन्नुपर्छ ।
उहाँले भन्नुभयो, फैसला गर्ने दिन फागुन २१ गते नै हो। तपाईंहरूले गर्ने निर्णयले नै देशको भविष्य निर्धारण गर्ने हो ।
उहाँले रास्वपाले प्रतिशोध नगर्ने र कानुनी राज्य स्थापना गर्ने जिकिर गर्दै उहाँले गर्दै यतिबेला दलप्रति निष्ठा देखाउने बेला होइन, देश प्रति निष्ठा देखाउने समय भएको बताउनुभयो ।

कार्यक्रममा पार्टीका सहप्रवक्ता रमेश प्रसाईंले आफ्नो पार्टी कुशासनविरुद्ध दृढ रहेको भन्दै निर्दाेष नेताहरुलाइ विभिन्न झुटा मुद्दा लगाएर फसाइएको बताउनुभयो ।
कार्यक्रममा सभामा मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार प्रकाश गौतम र क्षेत्र नम्बर–२ का उम्मेदवार प्रशान्त उप्रेतीले जिल्लाका स्थानीय समस्या समाधानमा प्रतिबद्धता जनाउनुभएको थियो ।




