हेटौँडा, चैत ३ गते । पोल्ट्री र होटेल व्यवसाय गर्दै आएका प्रकाश गौतम अब नागरिकको आवाज उठाउने, नीति नियम र ऐन कानुन बनाउने थलो संसद्मा पुग्नुभएको छ । प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएसँगै उहाँको यात्रा अब राष्ट्रिय राजनीतितर्फ मोडिएको छ । २०४५ कात्तिक ४ गते काभ्रेपलाञ्चोकमा जन्मिएका गौतम हाल हेटौंडा उपमहानगरपालिका–१७, चुच्चेखोला बसोबास गर्दै आउनुभएको छ ।
स्नातकसम्मको अध्ययन गरेका रास्वपा मकवानपुरका उपाध्यक्ष रहेका गौतमलाई निर्वाचनकै क्रममा पार्टीको थप जिम्मेवारोसमेत प्राप्त भएको छ । पार्टीका मकवानपुर जिल्ला सभापति भरत पराजुली चुनावी प्रचारप्रसारकै क्रममा पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेसँगै गौतमले पार्टीको कार्यवाहक सभापतिको जिम्मेबारीसमेत पाउनुभएको हो ।

उहाँले नागरिकमा रहेको निराशासँगै परिवर्तनको पक्षको मत आफूले प्राप्त गरेको बताउनुभयो । विगत तीन वर्षदेखि निरन्तर समाजसेवामा संलग्न रहेको भन्दै जनतालाई न्याय दिने शिक्षा आफूसँग रहेको बताउनुहुन्छ । “आफ्नो वाचापत्र अनुसार काम गर्ने हो र त्यसबाट एक इन्च पनि तलमाथि हुने छैन” उहाँले भन्नुभयो, “जनताको मत पाइसकेको छु, पाँच वर्षपछि पुनः आफ्नो कामको मत लिने हिसाबले काम गर्छु।” उहाँ भन्नुहुन्छ– “पदको मर्यादा राखेर काम गर्ने छु बदनाम हुने काम गर्ने छैन र म भ्रष्टाचार गर्दिनँ नागरिकका आवाजलाई संसदसम्म पु¥याउने छु । सोचेभन्दा बढी मत र जनताको धेरै माया पाएको छु । परिवर्तनका लागि मत प्राप्त भएको छ । यसका लागि सबैमा धन्यवाद दिन्छु,” उहाँले भन्नुभयो, मतदातामा गुम्सिएको पीडा मतमा व्यक्त भएको छ । मतको अवमूल्यन हुन दिने छैन ।
उहाँले आफूसँग प्रतिस्पर्धा गरेका सबैलाई मिलाएर सदभाव देखाउँदै उहाँहरूको पनि सरसल्लाहमा अगाडि बढ्ने बताउनुभयो । गौतमले पहिलो प्रयासमै संसदीय राजनीतिमा सफलता प्राप्त गर्दै ३६ हजार ३० मत प्राप्त गर्नुभएको थियो । यसअधि राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको यस क्षेत्रमा यो पटक नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय हिना निकटतम प्रतिस्पर्धी रहनुभएको थियो । २०७९ मा निर्वाचित राप्रपाका दीपकबहादुर सिंहले भने धरौटीसमेत जोगाउन सक्नुभएन ।

गौतमले मासिक रूपमा सांसदसँग कुराकानी गर्ने गरो निरन्तर रूपमा कार्यक्रम चलाउने, स्वास्थ्यतर्फ प्रत्येक वडामा चिकित्सक, नर्स, प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्डसहित सेवा विस्तार, ज्येष्ठ नागरिकको घरमै परीक्षण र घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने आफ्नो प्रतिबद्धतालाई पूरा गर्ने अठोट लिनुभएको छ । उहाँले हेटौँडा औद्योगिक क्षेत्रलाई सुदृढ र व्यवस्थित गर्दै मयूरधाप औद्योगिक क्षेत्रलाई मूर्तरूप दिई बहुराष्ट्रिय कम्पनी भित्र्याएर उत्पादन वृद्धि गर्ने र एक घर एक रोजगारीको लक्ष्य हासिल गर्ने घोषणापत्रमार्फत प्रतिबद्धता जनाउनुभएको छ ।
यस्तै धार्मिक, प्राकृतिक, साहसिक पर्यटन विकास नदी बोटिङ, हरित बेल्ट, घरबास, सांस्कृतिक संरक्षणमार्फत स्थानीय रोजगारी र आयआर्जन वृद्धि गर्ने उहाँको प्रतिबद्धता रहेको छ । शिक्षा क्षेत्रमा भएको दलीयकरण अन्त्य गरी विद्यालय व्यवस्थापन समितिमा बिज्ञ तथा अभिभावकलाई समावेश गर्ने र विद्यार्थी युनियनलाई कुनै पनि राजनीतिक दलसँगको आबद्धताबाट मुक्त राखी शैक्षिक वातावरण निष्पक्ष र गुणस्तरीय बनाउने उहाँको प्रतिबद्धता छ ।




