कांग्रेसको २७ बुँदे निर्वाचन समीक्षा प्रतिवेदन

लोकप्रिय

काठमाडौँ, चैत ६ गते । नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा २७ बुँदे निर्वाचन समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । चुनावपछि पहिलो पटक शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति  शर्माले निर्वाचन समीक्षामा केन्द्रित भएर प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । शुक्रबार बसेको बैठक उपसभापति शर्माले प्रतिवेदन पेश गरेपछि सकिएको छ ।  अर्को बैठक आइतबार बस्नेगरी आजको बैठक सकिएको हो।

उपसभापति शर्माले सभापति गगनकुमार थापाले दिनु भएको राजीनामा बैठकमा प्रस्तुत गर्नु भएको थियो । पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक शर्माले प्रस्तुत गर्नुभएको ‘प्रारम्भिक समीक्षा प्रतिवेदन’ मार्फत सो जानकारी दिइएको हो । प्रतिवेदनमा निर्वाचनमा पार्टी दोस्रो दल बन्नुको पछाडि २७ वटा मुख्य कारण औँल्याइएको छ । विशेष महाधिवेशन भएको ५० दिनमै निर्वाचनमा होमिनुपरेकाले परिवर्तनको सन्देश तल्लो तहसम्म पुर्‍याउन पर्याप्त समय नभएको प्रतिवेदनमा उल्लेख छ । उपसभापति शर्माले भन्नुभएको छ, “डढेलो लागेको जङ्गलमा आगो निभाउन अन्तिममा पुगेको व्यक्तिलाई आगो ननिभ्दा आगलागीको दोष बोकाउनु न्यायसङ्गत हुँदैन । त्यसैले सभापति थापाको राजीनामा अस्वीकृत गरी परिस्थिति सम्हाल्ने जिम्मेवारी दिइएको हो ।”

बैठकमा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, धना खतिवडा, सुधिरकुमार शिवाकोटी, सुवासकुमार पोखरेल र कमलप्रसाद भुसालले धारणा राख्नुभयो । अन्य वक्तामा जीतनारायण श्रेष्ठ, रमेशप्रसाद धमला, लीलादेवी बोखिम लिम्बू, भरतबहादुर खड्का, जनकराज गिरी, देवप्रसाद तिमिल्सिना र शम्भुबहादुर बुढाथोकी हुनुहुन्थ्यो । यस्तै, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, नारायणप्रसाद भट्टराई, डा. अमिता प्रधान, उमा शिवाकोटी, इन्दिरा कार्की, विश्वनाथ रिजाल, र सुनिलकुमार यादवले पनि पार्टीको आगामी रणनीति र जनअपेक्षा अनुरूप चल्नुपर्नेमा जोड दिनुभएको छ । अधिकांश नेताहरूले निर्वाचनमा व्यहोर्नुपरेको पराजयको वस्तुपरक समीक्षा गर्दै पार्टीमा नवीन रक्तसञ्चार गर्नुपर्ने सुझाव दिनुभएको छ । सभापति गगनकुमार थापाको राजीनामा र निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताले बोल्ने क्रम अझै जारी रहेको पार्टी कार्यालयले जनाएको छ ।

ताजा समाचार

Related Articles