हेटौँडा, चैत २० गते । गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्यका दुई जना उम्मेदवारले निर्वाचन अवधिभरमा खर्च शून्य रहेको विवरण बुझाएका छन् ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का दुई उम्मेदवारले चुनावी खर्च शून्य रहेको खर्च विवरण प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश हेटौँडामा बुझाएका हुन् ।
नेमकिपाका क्षेत्र नम्बर १ का उम्मेदवार रञ्जना सुवाल मगजु र क्षेत्र नम्बर २ का उम्मेदवार सरोज तामाङले आफ्नो खर्च नभएको भन्दै निर्वाचन कार्यालयका जानकारी गराउनुभएको छ ।

प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले दुवै उम्मेदवारले आफूहरुले व्यक्तिगत रुपमा खर्च नगरेको र पार्टीले नै खर्च गरेको जानकारी गराएको भन्दै यसमा केही पनि नहुने र पार्टी केन्द्रको खर्च विवरण हेरिने बताउनुभयो । दुवै जनाले उम्मेदवारी दर्ता गर्दा लाग्ने खर्चसमेत देखाउनुभएको छैन । उता नेकपा माओवादीबाट निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका राम घलानले सबैभन्दा कम खर्चसहितको विवरण निर्वाचन कार्यालयमा बुझाउनुभएको छ ।

उहाँले निर्वाचनमा १० हजार रुपियाँ मात्र खर्च भएको विवरण निर्वाचन कार्यालयलाई दिनुभएको छ ।
स्वतन्त्र मात्र होइन राजनीतिक दलका उम्मेदवारलेसमेत निर्वाचन अवधिभर एक लाख रुपियाँभन्दा कम खर्चभएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।




