एसइईका नक्कली परीक्षार्थी पक्राउ

लोकप्रिय

हेटौँडा, चैत २० गते । हेटौँडामा माध्यामिक शिक्षा परीक्षाका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हेटौडा उपमहानगरपालिका १० भुटनदेवी मन्दिररोड स्थित सोलिड्यारेटी माविमा एसइईको परीक्षा केन्द्रमा शुक्रबार अर्काे विद्यार्थीको परीक्षा दिन आएका सिन्धुली जिल्ला मरिण गाउँपालिका ४ का वर्ष १७÷१८ को विराज विकलाई पक्राउ गरिएको हो ।

हेटौँडा उपमहानगरपालिका ४ स्थितमा रहेको हेटौँडा स्कुल अफ मेनेजमेन्ट कलेजमा कक्षा ११ मा अध्यनरत निज विकले अर्काको नामको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिन आएको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
विकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा निजले हेटौँडा १२ स्थित पदमपोखरीका वर्ष १९ का अंकिश श्रेष्ठको नामको प्रवेश पत्र लिई परीक्षा दिन आएको पाइएको छ । निजहरु दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

यस वर्षको माध्यामिक शिक्षा परीक्षामा मकवानपुरमा नियमित र ग्रेडवृद्धि गरी यस जिल्लाबाट सात हजार १९२ परीक्षार्थी सहभागी छन् ।
शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरका अनुसार यस वर्ष नियमिततर्फ पाँच हजार ५२७ र ग्रेडवृद्धितर्फ एक हजार ६६५ परीक्षार्थी रहेका छन् ।
प्राविधिकधार र २०७९ सालको ग्रेड वृद्धिको परीक्षा हेटौँडामा भईरहेको छ ।
प्राविधिकधार र ग्रेड वृद्धिको परीक्षा केन्द्रसहित २८ वटा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।
एसइईमा जिल्लास्थित ३७ वटा संस्थागत विद्यालयसहित १४२ वटा विद्यालयका छात्रछात्रा संलग्न हुँदैछन् ।

ताजा समाचार

Related Articles