राक्सिराङको विकट बस्तीमा एकीकृत शिविर सम्पन्न

लोकप्रिय

हेटौँडा, चैत २१ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ को विकट बस्तीमा बृहत् एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।
‘सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ अभियान अन्तर्गत वडा न ७ स्थित जुरेथुमको श्री आधारभूत विद्यालय परिसरमा शुक्रबार शिविर आयोजना गरिएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले शिविरमा रोजगारी, लघु उद्यम, स्वास्थ्य सेवा, कृषि तथा पशुपन्छी, पोषण तथा सरसफाइ, सामाजिक सुरक्षालगायतका सेवा एकै स्थानबाट उपलब्ध गराइएको जानकारी दिनुभयो ।
किसानलाई तरकारी, मकै र घाँसको बिउ तथा औषधि वितरणदेखि मिनी टिलर, स्प्रे पम्प र ग्रीन नेटलगायतका सामग्री वितरण गरिएको छ ।
यस्तै सामाजिक सुरक्षाअन्तर्गत अपाङ्गता परिचयपत्र वितरण, विपद् प्रभावितहरुलाई रातह वितरण र ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
उहाँले ‘एक विद्यालय, एक ल्यापटप’ कार्यक्रम ल्यापटप र प्रिन्टर वितरणसँगै वडा नम्बर ६ सिलिङ्गेस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको बताउनुभयो । मौरीपालन प्रविधि हस्तान्तरण, स्वास्थ्य जाँच र औषधि वितरण गरिएको भन्दै उहाँले दुर्गम क्षेत्रमा सेवा पहुँच विस्तार गर्न घुम्ती शिविर कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

घाँसको बिउ र औषधि १५३ जना, तरकारीको बिउ १६० जना, मकै बीउ साढे दुई कुईन्टल, मिनिटिलर चार थान, स्प्रे पम्प पाँच थान, ग्रीन नेट पाँच थान, आगलागी भएका र हुरीबतासबाट पीडित चार घरधुरीलाई आठ बन्डल जस्तापाता वितरण र छ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । यसैगरी पोषण स्वछता सामाग्री २५ जना, स्वास्थ्यतर्फ १७८ जनाको स्वास्थ्य परीक्षण, एक विद्यालय एक ल्यापटप वितरण कार्यक्रम अन्तर्गत चार वटा प्रिन्टर र दुई वटा ल्यापटप वितरण पालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, संविधान सभा सदस्य गोविन्द राम चेपाङ, गाउँपालिकाका प्रमुख प्रशासकीय सन्देश मास्के, वडा नम्बर ६ का वडाध्यक्ष अक्कलबहादुर मुक्तान, वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर प्रजा लगायतको आतिथ्यता रहेको थियो।

ताजा समाचार

Related Articles