आठौँ राष्ट्रिय बागमती गोल्डकप आगामी वैशाख १७ गतेदेखि हुने

लोकप्रिय

हेटौँडा, चैत २४ गते । मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन हुने आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ । हेटौँडामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बागमती खेलकुद विकास समितिका संयोजक रहर सिं थिङले आगामी वैशाख १७ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी हुने छ ।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले पालिकाले खेल क्षेत्रमा लगानी गरेर आफ्नै रंगशाला तयार पारेर एकेडमी सञ्चालन गर्न लागेको भन्दै गोल्डकपका लागि पालिकाले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको बताउनुभयो ।
प्रतियोगितामा मलेसियाको पेनाङ फुटबल क्लबसहित चर्च ब्वाईज युनाइटेड, मछिन्द्र क्लब, एपीएफ, त्रिभुवन आर्मी, फ्रेन्ड क्लब, प्लानिङ ब्वाईज युनाइटेड, बागमती युथ क्लब, जीतपुर सिमरा क्लब र आयोजक टिम सहभागी रहने छन् ।
प्रतियोगिता बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुनेभएको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार रुपियाँ प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा बागमती–३ का वडाध्यक्ष कमान सिं पाख्रिन, ४ नम्बर वडाका वडाध्यक्ष दन्तलाल माझी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, एन्फा मकवानपुरका सदस्य आलोक स्याङ्तन, खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति लामा र सदस्य आकाश लोप्चन लगायतको उपस्थिति रहेको थियो

ताजा समाचार

Related Articles