हेटौँडा, चैत २७ गते । निर्माण सङ्घ मकवानपुरले इन्धनजन्य सामाग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै नेपाल सरकारसहित सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । सङ्घले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै इन्धनजन्य सामाग्रीहरूसहित निर्माण कार्यमा प्रयोग हुने बिटुमिन, सिमेण्ट, डण्डीलगायतका निर्माण सामाग्रीहरूमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामाग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको जनाएको छ ।
अत्यधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा ’आपतकाल’ घोषणा गरी व्यवसायीहरूलाई अविलम्ब राहत दिनुपर्ने सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सङ्घले इन्धनजन्य सामाग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गर्न माग गरेको हो ।

मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको विज्ञप्तिमा भनिएको छ ।
सङ्घका अध्यक्ष बालगोपाल कंडेलले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले निर्माण व्यवयासीले काम गर्नै नसक्ने अवस्थामा पुगेको बताउनुभयो । अध्यक्ष कंडेलले निर्माण व्यवसायीका माग संवोधन नभएमा चरणबद्ध आन्दोलनमा जानुपर्ने अवस्था आउने बताउनुभयो ।
इन्धनजन्य सामाग्रीहरूसहित निर्माण कार्यमा प्रयोग हुने बिटुमिन, सिमेण्ट, डण्डीलगायतका निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामाग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको छ उहाँले भन्नुभयो, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिसँगै निर्माण सामाग्रीमा भएको मृल्यवृद्धिलाई
दृष्टिगत गरी निर्माण उद्योगीलाई राहत दिने गरी सरकारले निर्णय गर्नुपर्छ, निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गर्नु आवश्यक छ ।

साथै क्रसर उद्योगमा देखिएको समस्याले निर्माण उद्योग समस्यामा परेको सङ्घको भनाई छ । निर्माण उद्योगको असहज अवस्थाका बारेमा नेपाल सरकारलगायतका निकायहरूमा जानकारी गराएपनि समस्या समाधान नभएको सङ्घका महासचिव राजेन्द्रप्रसाद चौलागाईँले बताउनुभयो ।
ठेक्काको मूल्य समायोजन राष्ट्र बैङ्कको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामाग्रीहरूको अत्याधिक मूल्यवृद्धि भएतापनि राष्ट्र बैङ्कको सूचकाङ्कमा उक्त सामाग्रीहरूको मूल्य घटेको देखाइने गरेका कारण निर्माण उद्योगमा थप सङ्कटमा पर्न गएको महासचिव चौलागाईँको भनाई छ ।
निर्माण कार्य तीव्र रुपमा हुने समयमै इन्धनसहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेका अत्यधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा ’आपतकाल’ घोषणा गरी व्यवसायीहरूलाई अविलम्ब राहत दिनुपर्ने सङ्घको माग छ ।
साथै सङ्घले सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै निर्माण व्यवसायीहरूको माग तुरुन्त सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप हालको कानूनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने हुँदा मूल्य समायोजनको मार्ग निर्देशिका–२ तत्काल जारी गर्न सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।




