काठमाडौँ, वैशाख १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति मन, बचन र कर्मले निष्ठ रहन तथा मुलुक एवं नागरिकको स्वतन्त्रता र हितबाहेक राज्यको अर्काे कुनै स्वार्थ हुन नहुने कुरामा अडिग रहन आग्रह गर्नुभएको छ ।
नववर्ष २०८३ को अवसरमा देशबासीका नाममा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले जुनसुकै परिस्थितिमा पनि देशको स्वाधीनता तथा सार्वभौमिकता झुक्न नदिने संकल्प गर्न पनि अपिल गर्नुभएको छ ।
नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन भएको स्मरण गराउँदै उहाँले हाम्रो देशमा प्रचलनमा रहेका संवत्हरू हाम्रो इतिहास, सभ्यता र जीवनका महत्त्वपूर्ण हिस्सा भएको स्पष्ट पार्नुभएको छ ।

राष्ट्रपति पौडेलले भन्नुभएको छ“ जसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउँछन् र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्दछन् ।”
नेपालीहरूले नव वर्षलाई विशेष दिन मानी विगतको समीक्षा गर्ने तथा आगामी दिनमा गरिने कार्यहरूका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिँदै आएका बताउँदै उहाँले विशेष पर्व र दिनहरूमा जीवनका लक्ष्यहरू निर्धारण गर्ने र त्यसलाई पूरा गर्न संकल्पवद्ध रहने हाम्रो परम्परा रहिआएको उल्लेख गर्नुभएको छ ।
“भर्खरै मुलुकमा प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुकमा उत्पन्न विषम परिस्थितिले निकास पाएको र जनताको नयाँ जनादेशबाट नयाँ सरकार गठन भइसकेको अवस्थाछ”, राष्ट्रपति पौडेलले भन्नुभएको छ,
“निर्वाचन मार्फत नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा विधिको शासन, दिगो शान्ति, सुशासन, सामाजिक न्यायसहितको विकास र समृद्धिको चाहना अभिव्यक्त गरेका छन् । यसका लागि हामी दृढ लक्ष्यसहित अगाडि बढ्ने संकल्प गरौं भन्ने पनि चाहेका छन् ।”

राष्ट्रपति पौडेलले जुन संकल्पलाई हाम्रा सन्ततीहरूले भोली हामीमाथि गर्व गरून् भन्ने उल्लेख गर्दे भन्नुभएको छ, “ गर्व गर्दै उनीहरूले भनुन् हाम्रा पुर्खाहरूले लोकतन्त्रको आलोकमा अगाडि बढ्ने जुन संकल्प गरे, त्यो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण क्षण थियो । त्यो लक्ष्यले हामी सबैलाई एकतावद्ध भई अगाडि बढ्न प्रेरित गरोस् ।”
कुनै पनि लक्ष्य प्राप्तिका लागि संकल्प र साधना आवश्यक रहेको बताउँदै उहाँले विधि र विधानलाई आत्मसात गरेको सुसंस्कृत व्यवहार तथा आचरणसहितको अविचलित साहस जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
हामीले चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज केही संकल्प गर्न आवश्यक रहेको बताउँदै राष्ट्रपति पौडेलले जस्तोसुकै अप्ठ्यारोमा संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्श गरिमालाई बचाउँदै नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्न केही महत्वपूर्ण विषयमा प्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभएको छ“ संकल्प गरौं कि हामी सुशासनप्रति प्रतिवद्ध रहने छौं । राजनीति, राज्य र राजकाजलाई विधिको शासन, नैतिकता, निष्ठा, मूल्यमान्यता र आदर्शको सिमाभित्र आवद्ध गर्नेछौं । हामी समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिवद्ध रहनेछौं । हामी हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने छौं । भातृत्व, एकता र समभाव हाम्रो जीवन पद्दति हुनेछ । सामाजिक एकता र आपसी सम्मान हाम्रो सास्कृतिक चरित्र हुनेछ ।”
उहाँले नागरिकको हितका लागि समर्पित हुने तथा हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुने संकल्प गर्दै नागरिकको स्वतन्त्रता र हितबाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुनेछैन भन्ने व्यवहारबाट स्पष्ट पार्न आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले यस्ता संकल्पहरूलाई राष्ट्रिय संकल्प बनाउन सकिएमा नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अभिष्ट राखेको सुशासनमार्फत सामाजिक न्यायसहितको विकास र समृद्धिको उचाई छुन कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभएको छ ।
राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएकोछ “नयाँ बर्षले संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको त्यही लक्ष्य पूरा गर्ने संकल्प र सामथ्र्य पैदा गरोस् र नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरित गरोस् भन्ने कामना गर्दछु ।”
उहाँले नव वर्ष २०८३ को सुखद् आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।




