‘लु’ को जोखिम बढ्दै

लोकप्रिय

काठमाडौँ, वैशाख ७ गते । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढेको छ । यससँगै तराईका जिल्लामा तातो हावा (लु) चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ ।विभागले आज दिउँसो सार्वजनिक गरेको तथ्याङ्कअनुसार कपिलवस्तुमा ४१ डिग्री सेल्सियस र बाँकेमा ३९ डिग्री सेल्सियस तापक्रम पुगेको छ । मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा  उपत्यका र खोँचहरूमा दिन तातो भएको, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पश्चिमी तराई क्षेत्रमा ‘लु’ चल्ने सम्भावना रहेको विभागले जनाएको छ । पछिल्लो सूचनामा अद्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागका मौसमविद् सञ्जिव अधिकारीले विशेषगरी तराईका जिल्लामा बुधबारसम्म अत्यधिक गर्मीको अवस्था कायम रहने जानकारी दिनुभयो । “आजदेखि पर्सि बुधबार सम्म विशेषगरी तराई, उपत्यका र खोँच क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना छ”, उहाँले भन्नुभयो, “कोशी प्रदेशमा भने बादल देखिएकाले ‘लु’ को सम्भावना तत्काल कम छ । विशेषगरी लुम्बिनी प्रदेशको पश्चिम क्षेत्र, धनगढीलगायत सुदूरपश्चिमका अन्य तराई जिल्ला, नेपालगञ्ज, धनगढीलगायत स्थानमा ‘लु’ को सम्भावना बढी छ ।”
सुदूरपश्चिमको दिपायलमा आज दिउँसो तापक्रम करिब ४० डिग्री सेल्सियस पुगेको उल्लेख गर्दै उहाँले त्यहाँका लागि यो तापक्रम असामान्य भएको बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ ‘हाइड्रोलोजिस्ट’ राजेन्द्र शर्माले जलवायु परिवर्तनसँगै ‘लु’ जस्ता मौसमी घटना बढ्दै जाने भएकाले समयमै तयारी र सचेतना बढाउन आग्रह गर्नुभयो ।

ताजा समाचार

Related Articles