हेटौँडा, वैशाख १० गते । हेटौँडा ११ स्थित सहिद स्मारक हेटौँडामा जनजाति सङ्ग्रहालय सञ्चालन गरिनेभएको छ । सङ्ग्रहालयको पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको र असारको अन्तिम सातासम्म सञ्चालनमा ल्याईने भएको हो ।
सङ्ग्रहालयको सञ्चालनको लागि विभिन्न जनजाति संगठनका अगुवाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको स्मारक विकास समितिका सदस्य नवीन सिग्देलले जानकारी दिनुभयो ।

छलफलमा स्मारक विकास समितिका अध्यक्ष तथा बागमती प्रदेशका प्रथम मूख्यमन्त्री डोरमणी पौडेलले आदिवासी जनजाति समूदायको भेषभुषा, रहनसहन, रितीरिवाज, भाषा र संस्कृति पहिचान झल्काउने सामग्री संकलन गरी राखिने बताउनुभयो । उहाँले सङ्ग्रहालय अवलोकनको साथै अध्ययन र अनुसन्धानको केन्द्र बन्ने र विभिन्न जातजातिको असल संस्कार र मूल्यमान्यताको प्रचार र संरक्षण गर्न सहयोग पुग्ने बताउनु भयो । तत्काल चेपाङ, तामाङ, नेवार, थारू, माझी, मगर, गुरूङ, राई, लिम्बू, किराँत राई, सुनुवार, वनकरिया, पहरीलगायतको पहिचान दिने सामग्री राख्न कार्य अगाडि बढाईएको छ ।

छलफलबाट सङ्ग्रहालय सञ्चालनको लागि आवश्यक सामग्री संकलन समन्वय गर्न रामकृष्ण थापा संयोजक र सबै जनजातिका अगुवाहरू सदस्य रहेको समन्वय समिति समेत गठन गरिएको छ । छलफल र अन्तरक्रिया स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर राना, सचिव रघुनाथ खुलाल, समितिका सदस्यहरू नवीन सिग्देल, ईन्द्रप्रसाद नेपाल, कृष्णराम न्यौपाने, स्मारकका कार्यालय प्रमुख रामचन्द्र न्यौपाने, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जङ्गबहादुर गुरूङलगायतको उपस्थिति रहेको थियो ।




