दवाव र प्रभावमा नपर्न मुख्यमन्त्री बानियाँको निर्देशन

लोकप्रिय

हेटौँडा, वैशाख १५ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रमा आवश्यक गुणस्तरीय जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडाका कूलपतिसमेत रहनुभएका मुख्यमन्त्री बानियाँले प्रतिष्ठानको मङ्गलबार हेटौँडामा भएको दशौं सभामा बोल्दै प्रतिष्ठानले पारदर्शी र जवाफदेही भएर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले मानव स्वास्थ्यसँग जोडिएको बागमती प्रदेशको गौरवको योजना भएको भन्दै प्रतिष्ठानले गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनभयो ।
उहाँले हेटौँडा अस्पतालमा अभ्यास गर्दा आवश्यक उपकरण खरिदमा विवादरहित रुपमा खरिद प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै कसैको दवाव र प्रभावमा आएर गुणस्तरहीन उपकरण ल्याएर बदनाम हुने कार्य नगर्न निर्देशनभयो ।
गुणस्तरीय जनशक्ति उत्पादन गर्ने संस्थाहरु भएकाले यसले प्रयोग गर्ने उपकरणलगायतका सामाग्री पनि गुणस्तरीय हुनु आवश्यक भएको उहाँको भनाई छ ।

प्रतिष्ठानका सहकूलपति एवं स्वास्थ्यमन्त्री किरण थापाले प्रतिष्ठानले दक्ष र गुणस्तरीय जनशिक्त उत्पादनलाई जोड दिँदै आएको बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रदीप ज्ञवालीले प्रतिष्ठानको प्रतिबेदन प्रस्तुत, डीन डा. इन्दिरा अधिकारी पौडेलले शैक्षिक कार्यक्रम र शिक्षाध्यक्ष प्रा.डा. दिनेश कुमार लम्सालले प्रतिष्ठनाका बारेमा जानकारी गराउनुभएको थियो ।
सभाले वार्षिक प्रतिवेदन, आ.व. २०८३/८४ को नीति, योजना र कार्यक्रम तथा बजेट र नियमावलीहरु संशोधन  गरी पारित गरिएको प्रतिष्ठानका रजिस्ट्रार भीम सागर गुरागाईंले जानकारी दिनुभयो ।
यस्तै प्रतिष्ठानको आन्तरिक लेखा परीक्षण, प्रतिष्ठानको परिमार्जित संगठन संरचना र प्रतिष्ठानको प्रस्तावित नयाँ दुई सय शय्याको विशिस्टीकृत शिक्षण अस्पतालका बारे छलफल गरी निर्णय भएको उहाँले बताउनुभयो ।

सभामा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव लोकेन्द्र बराल, सामाजिक विकास मन्त्रालयका सचिव खुवीराम अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव नुमानन्द अधिकारी, निर्देशक डा. रामचन्द्र सापकोटा, स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत जितेन्द्रकुमार साहलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles