बागमती गोल्डकपः बागमती युथको विजयी सुरुवात

लोकप्रिय

हेटौँडा, वैशाख १७ गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आठौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ ।
बागमती गाउँपालिका वडा नम्बर ४ स्थित सहिद स्मृति रङ्गशालामा बिहीबार भएको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई ३–० गोलले पराजित गर्दै सर्लाहीको बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ ।

बागमती युथको तर्फबाट सुजन गुरुङले ३१ औँ मिनेटमा राजु लोले ६८ औँ र अनिष महर्जनले ७१ औँ मिनेटमा गोल गर्नुभएको थियो । उद्घाटन खेलमा प्लेयर अफ दि म्याच बागमतीका गुरुङ घोषित हुँदै १० हजार रुपियाँ प्राप्त गर्नुभयो । बागमती युथले सेमिफाइनल प्रवेशका लागि सातौँ संस्करणका विजेता रहेको चर्च ब्वाइज युनाइटेड, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ । चर्च ब्वाइजले समूह ए बाट बाई पाएको छ ।
शुक्रबार त्रिभुवन आर्मी क्लब काठमाडौँ र बाराको नव जनजागृती क्लब बीच खेल हुने छ । प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते तथा फाइनल खेल वैशाख २६ गते हुनेछ ।

प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार रुपियाँ प्राप्त गर्नेछन् ।
बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी र एन्फा केन्द्रीय सदस्य टीकाराम लामालगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles