काठमाडौँ, वैशाख १८ गते । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा बिहीबार भएको जिप दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले बिहीबार लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो ।

समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई दुर्घटनाको कारण तथा लापरबाही र कमजोरी पत्ता लगाई तथा आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिने कार्यादेश दिइएको छ । रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप बिहीबार अपराह्न ३ बजे कच्ची सडकबाट करिब आठसय मिटर तल खस्दा २० जनाको ज्यान गएको थियो ।




