बागमती प्रदेशमा १४ वटा मन्त्रालयबाट घटाएर आठ वटा बनाइने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २२ गते । बागमती प्रदेशमा १४ वटा मन्त्रालयलाई घटाएर आठ वटा बनाइने भएको छ । प्रदेश सरकारको मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मन्त्रालय सङ्ख्या घटाएर आठ वटा बनाउने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले चालु आर्थिक वर्षसम्म हालकै मन्त्रीपरिषद् र मन्त्रालय रहने र आगामी साउन १ गतेबाट प्रदेशका छ वटा मन्त्रालयहरुलाई घटाएर आठ वटा कायम गर्ने गरी मन्त्रीपरिषद् बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय रहने गरी बैठकले निर्णय गरेको छ ।
प्रवक्ता तामाङले कटौतीमा परेका मन्त्रालयहरुलाई आगामी आर्थिक वर्षको लागि बजेटको सिलिङसमेत नजाने भन्दै प्रदेशको प्रशासनिक संरचनालाई कम खर्चिलो बनाउन गठित उच्चस्तरीय अध्ययन समितिको सिफारिश र सुझाव कार्यान्वयन गर्न सरकारले निर्णय गरेको बताउनुभयो ।

प्रदेशका मन्त्रालयको सख्या घटेसँगै ती मन्त्रालयहरु मातहतका कार्यालयहरुको संख्या १९८ मध्ये ५० वटा घट्ने छ, मन्त्री तामाङले भन्नुभयो मन्त्रालय र कार्यालय समायोजनपछि प्रदेश सरकारले वार्षिक चालु तर्फ पाँच अर्ब रुपियाँले घट्ने अनुमान गरिएको छ । मन्त्रिपरिषद् बैठकले मन्त्रालय मातहत रहने कार्यालयहरुको कर्मचारीको व्यवस्थापनका लागि ओ एण्ड एमका लागि समिति समेत गठन गरेको छ । उक्त समितिले अध्ययन गरेर आगामी असारभित्रै सिफारिश गर्ने छ ।

ताजा समाचार

Related Articles