सशस्त्र प्रहरीका दुई कर्मचारीद्वारा सगरमाथाको आरोहण

लोकप्रिय

काठमाडौँ, जेठ ३ गते । सशस्त्र प्रहरी बल, नेपालका सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निम डिक्की शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको छ। सहायक हवल्दार कार्कीले शनिबार बिहान १० बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेक्दै सशस्त्र प्रहरी बलका तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला कर्मचारी बन्ने कीर्तिमान कायम गर्नुभएको हो। त्यसैगरी सहायक निरीक्षक शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको सफल आरोहण गर्नुभएको हो।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता, सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार यससँगै सशस्त्र प्रहरी बलका तर्फबाट सगरमाथा आरोहण गर्ने कर्मचारीको सङ्ख्या चार पुगेको छ भने महिला कर्मचारीका तर्फबाट यो पहिलो सफल आरोहण हो।

रामेछापकी कार्की राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत हुनुहुन्छ भने इलामकी शेर्पा पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता प्राप्त प्रशिक्षित आरोही हुनुहुन्छ। दुवै जनाले सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालयबाट उन्नत पर्वतीय उद्धार तालिम हासिल गर्नुभएको प्रवक्ता थापाले जानकारी दिनुभयो। कार्की र शेर्पाले यसअघि मनाङस्थित चुलु फार इस्ट हिमाल र लोबुचे हिमालको समेत सफल आरोहण गरिसक्नुभएको छ। कार्कीको आरोहणमा निमा साङ्गे शेर्पा र शेर्पाको आरोहणमा टासी ग्याल्जेन शेर्पाले मार्गदर्शन तथा सहयोग गर्नुभएको थियो। सशस्त्र प्रहरी बलले यस सफलतालाई महिला सहभागिता, नेतृत्व क्षमता र साहसको महत्त्वपूर्ण उदाहरणका रूपमा उल्लेख गर्दै उच्च प्रशंसा गरेको छ।

ताजा समाचार

Related Articles